४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल

निरन्तर न्यूज
२२ भाद्र २०७६, आईतवार १८:०३

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाएकी छिन् । उनले डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको आरोप समेत लगाइन् ।

‘डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो ? के सेना परिचालन गर्न मिल्छ ?,’ आइतबारको संसद बैठकमा उनले प्रश्न गरिन् । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै अन्य सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आइतबारको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह समेत गरे । सांसद कृष्णगोपाल श्रेष्ठले आइतबार काठमाडौंको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराए ।

सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको निष्कर्ष सुनाइन् । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरिन् ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार डेङ्गु रोग ४८ जिल्लामा फैलिएको छ । उक्त रोगका कारण अहिलेसम्म तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको छ । मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाई परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु