हेटौंडामा ४३८ डेंगुका रोगी

फैलँदै डेंगु, परीक्षण किटको अभाव
प्रताप विष्ट
१५ भाद्र २०७६, आईतवार १४:००

हेटौंडा । हेटौंडामा डेंगुका बिरामी दैनिक रूपमा थपिदै गएका छन् । सुरुमा एकै दिन २० जनासम्म डेंगुका रोगी फेला परेपनि अहिले दैनिक चार/पाँच रोगी थपिने गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार बेलुकासम्म मकवानपुरमा ४ सय ३८ जना डेंगु रोगी फेला परे ।

‘मकवानपुर अर्थात् हेटौंडामा डेंगु रोग क्रमश: नियन्त्रणउन्मुख छ,’ स्वास्थ्य कार्यालयका प्रमुख शशिकान्त सिंहले भने, ‘डेंगुका रोगी दैनिक चार/पाँच जना थपिने क्रम जारी छ ।’ डेंगु परीक्षण गर्ने किट समस्या पनि हुने गरेको छ । मागअनुसार माथिबाट किट आएको छैन । चार सय किट पठाउँछौं भनेका थिए तर २ सय मात्र पठाएका छन्,’ सिंहले भने, ‘अब किट थोरै मात्र बाँकी छ ।’ हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले डेंगु परीक्षण गर्न किट समस्या नहुने, आवश्यक परे उपमहानगरपालिकाले खरिद गरेर ल्याएर स्वास्थ्य कार्यालयलाई दिने बताए । ‘किटको कारणले रोग परीक्षण गर्न नपाउने अवस्था आउनु हुँदैन’ मेयर महतले भने, ‘किट खरिद गर्ने व्यवस्था नगरपालिकाले मिलाउनेछ ।’

स्वास्थ्य कार्यालयमा नि:शुल्क डेंगुको परीक्षण गर्ने गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा बढी डेंगुका रोगी फेला परेका छन । हेटौंडाबाट फैलिएको डेंगुको रोग अहिले मनहरी भीमफेदी, बकैया र वाग्मती गाउँपालिकाका बासिन्दामा समेत देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आवमा हेटौंडामा जम्मा पाँच जना मात्र डेंगुका बिरामी भेटिएकामा यस वर्षको लगातारको वर्षात्पश्चात् एक्कासि डेंगुको संक्रमण देखिएको थियो । साउनको पहिलो सातादेखि हेटौंडामा डेंगुको रोग देखा परेको हो । डेंगु रोग सार्ने लामखुट्टेहरू सफा पानी जम्ने स्थानमा बस्ने भएकाले वडाका हरेक टोलटोलमा पुगी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानीको डम्बा, भाँडा, फ्याँकिएका विभिन्न टायरहरू हटाउने अभियान अहिलेसम्म पनि जारी छ । डेंगु देखिएसँगै स्थानीयको प्रत्यक्ष संलग्नतामा ‘खोज र नष्ट गर’ गर्ने कार्य भइरहेको छ ।

क्षेत्रीय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका शिशिर पन्तले आफ्नो टोलमा रहेको खाल्डाखुल्डी, जथाभावी फालिएका टायर, पानीका बोतल पुर्न, एसी र गमलाको पानी फेरेको खण्डमा बिस्तारै डेंगु नियन्त्रण हुँदै जाने बताए । ‘दिउसोको समयमा लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । सफा पानीमा बस्ने लामखुट्टेले टोक्दा यो रोग लाग्ने भएकाले सफा पानी जम्न नदिनु नै सबैभन्दा राम्रो कार्य हो । ’पन्तका अनुसार कुनै स्प्रे वा औषधि प्रयोग गरेर डेंगु नियन्त्रणमा आउँदैन । यो समाचार कान्तिपुर दैनिकमा प्रताप विष्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु