विपन्न नागरिकलाई निःशुल्क कपडा उपलब्ध गराउन कपडा बैंक

निरन्तर न्यूज
७ भाद्र २०७६, शनिबार १६:१९

हेटाैँडा । नेपाल तरुण दल मकवानपुरको व्यवस्थापनमा हेटौंडा–१ स्थित चौकीटोल ओरालोमा कपडा बैंकको स्थापना भएको छ । विपन्न नागरिकलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले कपडा बैंक सञ्चालनमा ल्याईएको हो ।

हेटौंडाका विभिन्न स्थानमा कपडा बैंक स्थापना गर्ने तरुण दलको अभियानअन्तर्गत शनिबार चौकीटोल ओरालोमा पनि कपडा बैंक स्थापना गरिएको हो । केही दिनअघि हेटौंडाको सानोपोखरा चोकमा तरुण दलले कपडा बैंक स्थापना गरिसकेको छ भने जिल्ला प्रहरी कार्यालय अगाडी पनि कपडा बैंक स्थापनाको अन्तिम तयारी भईरहेको तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीले जानकारी दिए ।

नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले रिबन काटेर चोकीटोल आरालोको कपडा बैंकको उद्घाटन गरेका हुन् । कपडा बैंकको उद्घाटन गर्दै बानियाँले विपन्न नागरिकको हितमा कपडा बैंक स्थापना गरिएको भन्दै तरुण दलको प्रशंसा गरे । गरिब र विपन्न समुदायको हितमा सदैव काम गरिरहन उनले सुझाव समेत दिए । कपडा बैंकको दीगो व्यवस्थापनमा तरुण दलको ध्यान जानुपर्नेमा उनको जोड थियो ।

कपडा बैंकमा आफूसँग भएका नयाँ तथा प्रयोग भईसकेका कपडा जो–कोहीले राखिदिन सक्छन् भने कपडा आवश्यक हुने जो–कोहीले सित्तैमा कपडा लैजान सक्नेछन् । लट्टीनाथ निर्माण कम्पनी हेटौंडाका रवि श्रेष्ठले नयाँ कपडा सौजन्य गरिदिएर कपडा बैंक स्थापना गरिएको हो । कपडा बैंक स्थापनाको लागि भ्वाइस अफ ग्रुप चौकीटोलले पनि सहयोग गरेको छ ।

नेता बानियाँको प्रमुख आतिथ्यतामा भएको कपडा बैंक उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य सुनिल दाहाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरी, व्यवसायी रवि श्रेष्ठ, व्यवसायी ध्रुव न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*