हेटौंडामा १ सय २५ जनामा डेंगु, ४ नम्बर वडामा मात्र ६० विरामी

हेटाैँडा । हेटौंडामा १ सय २५ जनामा डेंगु देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जसमा ६९ पुरुष र ५६ जना महिला रहेका छन् । १ सय २५ मध्ये ६० जना ४ नम्बर वडाका बिरामीहरु रहेका छन् ।
हेर्टौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ८४.१५ प्रतिशत घरमा डेंगु देखिएको किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले जनाएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडामा भएको डेंगुबारेको छलफल कार्यक्रममा यस्तो जानकारी दिइएको हो । ५ दिन गरिएको १ सय १ घरको सर्वेक्षणबाट ८८ घरमा डेंगुको लार्भा र प्युपा भेटिएको हो ।
सर्वेक्षण गरिएको घरमा पानि जम्मा भएका ३ सय ५० वटा सामान फेलापरेको र जसमा २ सय २० वटा सामानमा डेंगु फेला परेको बताइएको छ ।
हेटौंडामा साउन १० गतेदेखि देखिएको डेंगुले महामारीको रुप लिएको छ । आज सम्म पनि डेंगु नियन्त्रणमा सरकारी संयन्त्र भने चुस्त देखिएको छैन । स्वास्थ्य निर्देशनालय र हेटौंडा उपमहानगरपालिका भने सर्च एण्ड डिस्ट्रोई (खोज र मार) अभियान चलाइरहेको बताएको छ ।