बाबुरामले प्रचण्डलाई दिए जवाफ ‘जस्ताे रोप्याे उस्तै उम्रन्छ’
काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी तथा नेकपाका अध्यक्ष प्रचण्डले संघीयताबारे दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।
सोमबार सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले संघीय अभ्यासप्रति निराशा व्यक्त गर्दै ‘रोपेको एउटा थियाे, अर्कै उम्रिदै छ’ भनेका थिए । जवाफमा डा. भट्टराईले प्रचण्डले एमाले/नेकपासँग सत्ता बाँडचुड गर्न सम्झौता गरेकोले संघीयता भनेजस्तो नभएको बताएका हुन् ।
‘कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बीउ रोप्यो त्यस्तै बिरूवा उम्रन्छ,’ उनले मंगलबार साँझ ट्वीट गर्दै लेखेका छन्, ‘राज्य पुनर्संरचना समिति/आयोगले पहिचानसहित १०प्रदेशको संघीयताको बीउ सिफारिस गरेको थियो तर, तपाईंले एमाले/नेकासंग सत्ता बाँडचुँड गर्न पञ्चायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको बीउ रोप्नुभो । अहिले त्यही फल्दैछ । कसो ?’
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अढाई दशक लामो सहकार्य गरेका नेताद्वय प्रचण्ड र डा. भट्टराई अहिले फरक पार्टीमा छन् ।