विश्वका स्टार खेलाडीहरुलाई पछि पार्दै पारसकाे छलाङ

निरन्तर न्यूज
२२ श्रावण २०७६, बुधबार १६:५८

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि-२० वरियतामा ठूलो उपलब्धि हासिल गरेका छन् ।

नयाँ वरियतामा खड्काले विश्वका स्टार खेलाडीहरुलाई पछि पार्दै ठूलो छलाङ हान्न सफल भएका हुन् । आईसीसीद्वारा सार्वजनिक नयाँ वरियतामा अलराउन्डरतर्फ पारस १४ स्थान माथि चढ्दै २५ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ३९औं स्थानमा थिए । एकैपटक १४ स्थान फड्को मार्दै उनले हालसम्मकै उच्च उपलब्धि हासिल गरेका छन् ।

नयाँ वरियताअनुसार पारसले विश्वका स्टार क्रिकेटरहरुलाई पछाडि पारेका छन् । उनी अफगानिस्तानका राशिद खान, न्युजिल्यान्डका कोलिन डि ग्राण्डहोम, इंग्ल्यान्डका जो रुट, भारतका हार्दिक पान्ड्या र वेस्ट इन्डिजका आन्द्रे रसेललाई पनि पछि पार्न सफल भएका हुन् ।

कप्तान खड्काले ब्याटिङतर्फ पनि एकैपटक २७ स्थान फड्को हानेका छन् । यसअघि ब्याटिङमा ९३ औं स्थानमा रहेका खड्का नयाँ वरियताअनुसार ६६ औं स्थामा उक्लिएका हुन् । यो उपलब्धिले उनलाई ब्याटिङमा भारतीय विकेटकीपर महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका क्रिस गेल र भारतका ऋषभ पन्तभन्दा अघि लगेको छ ।

अलराउण्डर तर्फ सोमपाल कामीको स्थान भने खस्किएको छ । उनी ४८औं स्थानबाट झरेर ६६ औं स्थानमा झरेका हुन् ।

त्यसैगरी, बलिङतर्फ बसन्त रेग्मी र सोमपाल दुवै खस्किएका छन् । उनीहरु ६७ औं र ६६औं स्थानबाट क्रमशः ७१औं र ७८औं स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु