संसद बैठक सोमबारसम्म स्थगित, सर्वदलीय बैठक निष्कर्षबिहीन
काठमाडौं, १६ साउन । प्रतिनिधि सभाको अवरोध अन्त्य गर्न भन्दै बिहीबार दिउँसो बसेको सर्वदलीय बैठक निष्कर्षबिहीन बनेको छ ।
आज बिहीबार बसेको सर्वदलीय बैठकमा कुनै सहमति हुन नसकेपछि अपरान्ह २ बजेका लागि बोलाईएको संसद बैठक समेत सूचना टाँसेर स्थगित गरिएको छ । सर्वदलीय बैठक लगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहमति हुन नसकेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर सोमबार सम्मका लागि स्थगित गरिएको हो ।
सभामखु कृष्ण बहादुर महराले सर्लाही घटनाबारे अनुसन्धानका लागि संसदीय छानविन समिति बनाउनुपर्ने लगायतका माग राख्दै विपक्षी दलले बारम्बार संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभामा प्रतिनिनिधित्व गर्ने ४ दलको बैठक बोलाएका थिए ।
बैठकमा सत्तारुढ दल नेकपा उपनेता सुवास नेम्बाङ, मुख्य सचेतक देव गुरुङ र संघीय समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा प्रतिपक्षी दल कांग्रेसका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव, महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण सहभागी थिए ।
असार २४ गतेदेखि कांग्रेस र राजपाले सर्लाही घटनामा संसदीय समिति बनाउनुपर्ने, निर्मला हत्यामा दोषीमाथि कारवाही, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक, संसदीय सर्वोच्चता कायम हुनुपर्ने भन्दै संसद अवरोध गर्दै आएका छन् ।
कांग्रेसहितका प्रतिपक्षी दलले लगातार बेल घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध हुँदै आएको हो ।
संघीय संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा संसदीय समिति गठन गर्नु पर्ने प्रतिपक्षीको माग र प्रहरी मुडभेडमा मारिएको बारे छानविन आवश्यक नरहेको सत्तापक्षको अडानका कारण सहमति हुन नसकेको संघीय संसद सचिवालयले जनाएको छ ।