७ सय ५३ वटा स्थानीय तहमध्ये ६ सय स्थानीय तहका युवालाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ७६ हजार युवाकाे राेजगारी
निरन्तर न्यूज
१६ श्रावण २०७६, बिहीबार २१:३६

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गत आर्थिक वर्षमा झन्डै एक लाख ७६ हजार व्यक्तिले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

देशभरिका सात सय ५३ वटा स्थानीय तहमध्ये झन्डै ६ सय स्थानीय तहका युवालाई २२ लाख ६२ हजार दिनको रोजगारी दिएको मन्त्रालयले जनाएको हो । गत आर्थिक वर्षको अन्तिममा कार्यान्वयनमा आएको कार्यक्रमको एक महिनाको तथ्याङ्क मन्त्रालयले आज सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ ।

कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई वर्षभरि नै कम्तीमा एक सय दिनको रोजगारी दिने भनिए पनि गत आर्थिक वर्षमा एक महिनाका लागि मात्रै यो कार्यक्रम लागु गरिएको थियो । बेरोजगार व्यक्तिलाई कुनै पनि स्थानीय सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक आयोजनामा एक सय दिनसम्मको काम दिएर त्यसै अनुसार पारिश्रमिक दिने व्यवस्था उक्त कार्यक्रममा गरिएको छ ।

सबै स्थानीय तहको तथ्याङ्कका आधारमा औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक व्यक्तिले १३ दिनको रोजगारी पाएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती अनुसार देशका सबै स्थानीय तहमा आयोजनाको क्षेत्र र प्रकार तोकेर सामुदायिक आयोजना सञ्चालन गर्न दुई अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुदानका रूपमा बुझाइएको थियो ।

त्यस्तो रकमलाई कुनै पनि स्थानीय तहमा ५ लाखभन्दा कम नहुनेगरी र एक करोडभन्दा नबढ्नेगरी बजेट बाँडफाँट गरिएको मन्त्रालयले जनाएको छ । बेरोजगारलाई रोजगारी उपलब्ध गराउने भन्दै घोषणा गरिएको कार्यक्रमअन्तर्गत गत चैत महिनाबाट सबै स्थानीय तहमा बेरोजगारको निवेदन लिने काम सुरु भएको थियो ।

सूचीकृत भएका बेरोजगारलाई तीनवटै तहका सरकारका सार्वजनिक निर्माण र अन्य आयोजनामा अनिवार्य रूपमा काम दिनुपर्ने र निजी, सहकारी र सामुदायिक क्षेत्रले पनि त्यस्तो सूचीबाट कामदार लिन सक्ने मन्त्रालयले व्यवस्था गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*