माइला लामालाई किन जेल हालेको ?

ज्वाला संग्रौला
११ श्रावण २०७६, शनिबार १८:३३

भर्खरै फेशबुकमा ‘बाहुनले देश बिगारे’ भन्ने एउटा पोस्ट पढें। त्यहाँ बाहुन र जनजाति मित्रहरुका कमेन्ट क्रिया-प्रतिक्रिया हुँदाहुदै मुख छोडाछोडको स्थिति समेत सृजना भैसकेको रहेछ। नजिकै भए त लात्ती हानाहान नै हुन्थ्यो होला!

मलाई थाहा छैन यो पोस्ट कति सही र कति गलत छ । तर यो कुरा सही हो कि आठ फेलवाला ओली , मान्छे मारेर सत्ता क़ब्ज़ा गर्ने प्रचण्ड , भ्रस्टचार गरेर पार्टी र देश दुबैलाई भिरबाट खसाउने शेर बहादुर देउवा, आफ्नै पतिको हत्या हुँदा पनि खोजिनिती नगर्ने र मनमा कसैप्रति दया नजाग्ने विद्यादेवी भण्डारी सबै बाहुन हुन् । यस्तैयस्तैले देशलाई लुट्न सम्म लुटेका छन् वर्षौं देखि!

तर म अचम्म पर्छु- कक्षा एकदेखि १२ सम्म निरन्तर प्रथम श्रेणीमा उतीर्ण भएर, क्षमता भएर , इमानदार भएर पनि देशमा स्थान नपाएपछि विरक्त भई जापानको हिरोशिमा र नागासाकी नजिकै खसेको क्षेत्रीबाहुन चाहिँ मैं हुँ । म जस्तै पिल्सिएका, ठगिएका, देशबाटै कुटिएका क्षेत्रीबाहुनहरु आज प्राय: खाडीमा दुख गरिरहेछन्..!

तर यो पनि सत्य हो कि देशमा आदिबासी जनजाति हरु हेपिएका साँच्चै हुन्। उनीहरु सुरुमा बाहुन नेताहरु बाटै हेपिए, पछि आफ्नै नेताहरुबाट समेत हेपिए ।

सत्तामा आदिबासी जनजाति/मधेशीबाट सत्तामा पुगेका उपेन्द्र यादव, वर्षमान पुन, ओनसरी घर्ती मगर, नन्द बहादुर पुन नबिना लामा यिनीहरु सब तिनै केपी र प्रचण्डको वरिपरि घुस र लुटतन्त्रको धुलो उडाएर बसेका छन्, तिनै देश लुट्ने बाहुनहरुसँह घाँटी जोडेर बसेका छन्, समग्रमा यिनीहरु आफैं बाहुन जस्ता भैसकेका छन्।

लेखक : ज्वाला संग्राैला

यादब आफैं आज देशका उपप्रधानमन्त्री भएर भुँडी फुलाएर बसेका छन्! नन्दबहादुर पुन जो जनजातिका प्रतिनिधि हुन् , देशको उपरास्ट्रपतिको कुर्सी पड्काएका छन् । तर वर्षमान, ओनसरी र नन्दबहादुरले जनजातिको मुद्दा कहाँ उठाए? आदिबासीको भत्किएको घर कहाँ देखे? कहाँ देखे उपेन्द्र यादवले तराईमा दाईजोको निहुमा जलेकी ती मधेसी समुदायकी किशोरीको क्षतविक्षत शरीर ?

तर हिजो द्वन्दकालमा लडाईमा आँखाको ज्योति गुमाएका, एउटै जनबादी गीतले उथलपुथल मच्चाईदिने , प्रचण्ड र बादलका दाहिने हात माईला लामा केबल बिप्लवलाई समर्थन गरेकै आधारमा समातिँदा किन हेरेर बसिरहेका? बिचरा लामाले केपी र प्रचण्डहरुले जस्तो देश लुटेर हिडेका त छैनन् नि। यो गलत भयो भनेर किन आवाज नउठाएका सत्ताका यी जनजाति सरदारहरुले ?

अनि हामी सामान्य जनताहरु चाहिँ बिना अध्ययन बिना सोचबिचार बेफाँकमा बाहुन र जनजाति भन्दै एक अर्कामा लोपारालोपार गर्ने, थुकाथुक गर्ने अनि देश चलाउन गएका बाहुन र जनजाति चाहिँ मिलेर देश लुट्ने??

यो अवस्थामा हामी जनताले बुझ्नु पर्ने के छ भने देश भनेको कुनै जातीय सोचले चल्नु हुन्न, भिजनले चल्नु पर्छ, रणनीतिले चल्नु पर्छ , दुरदर्शीताले चल्नु पर्छ । तर यी गुणहरु अहिलेका कुनैपनि नेतामा छैनन्, चाहे ति बाहुन् हुन् या जनजाति.! तसर्थ देश बनाउन अब यी सब देशलुटुवा ओली, प्रचण्ड, यादव, पुन, आदिलाई विस्थापित गरेर नयाँ नेतृत्वहरु आउनु पर्छ।

एउटा कुरो अन्तिममा भन्छु- मैले भर्खरै दिल निशानी मगर र पुन्य गौतमको अन्तर्वाता पनि हेरेँ । त्यहाँ दिल निशानीले बोलेका कुराहरु तुलनात्मक रुपले जायज लागेका छन् मलाई !

पुन्य गौतमलाई सत्ताको मात र टिके पदको मोहले आकुल-ब्याकुल बनाएको रहेछ। अस्ती नै आत्महत्या गर्छु भन्दै हुनुहुन्थ्यो, जिउँदै अन्तर्वार्तामा देख्न पाउँदा खुसी पनि लाग्यो र हाँसोपनि । तर त्यत्रो पढेको मान्छे दम र हैसियत नभएको एउटा कुरा पनि नगरेको देख्दा चिट चोरेरै डिग्री पड्काएको हो कि भन्ने नि लाग्यो।

दिल निशानीको कुरामा दम छ, तर्क छ । वहाँका कतिपय कुरामा सहमत हुन नसके पनि कति कुराहरु मलाई राम्रा लाग्छन्। तर पटक-पटक बाहुनले देश बिगारेको भनिरहँदा दिल निशानी मगरले आफूले प्रचण्ड बाहुनलाई नाम्लो लगाएर बुई बोकेको तथ्य बिर्सेकोमा चाहिँ मलाई बडो ताज्जुब लागेको छ। यदि बाहुनले देश बिगारेको हो भने दिल निशानि जस्ता आदिबासी जनजातिको प्रतिनिधि आवाजहरुले प्रचण्ड ओली र भण्डारी जस्ता देश दोहन गर्नेहरुको हनुमानगिरी गर्न छाड्ने कि नछाड्ने??

मैले प्रचण्ड र केपीहरु देश चुस्ने जुकाहरु हुन् भन्दा मलाई ‘तँ रबि लामिछानेकी पाँचौ ……होस्’ भनेर कमेन्ट गर्ने जनजाति दाजुभाईहरुका स्क्रिनसटहरु आजपनि मसँग छन्। त्यसलाई कस्तो रुपमा हेर्ने ??

तसर्थ यहाँ देश जातले हैन स्वार्थ र नियतले बिगारेको छ। बाहुनले देश बिगारे भन्ने जनजाति साथीहरु नै भोट दिने बेला प्रचण्ड र केपीको चाकडी गरेर हिड्ने अनि सामाजिक सन्जालका सोझा ,गरिब र दुईछाक टार्न खाडीतिर पसेका बाहुनहरुलाई तथानाम गाली गर्ने?

देशलाई अब बाहुन क्षेत्री जनजाति केही चाहिएको छैन । असल नेता चाहिएको छ। असल मानिस चाहिएको छ। देशको प्रधानमन्त्री सबैलाई मिलाएर लान सक्ने, भ्रष्टाचार विरोधी , भिजनरी र डाइनामिक हुने हो भने २४ घण्टामा देशमा शान्ति आउँछ। प्रधानमन्त्रीको अनुहार सम्झेरै गरीवको मुहारमा खुसी छाओस् र भ्रस्टहरुको मुटुले हावा खाओस् । अनि पो देशमा परिवर्तनको युग सुरु हुन्छ त….!

यो जात, त्यो जात हैन अब हामीले म नेपाली हुँ भन्ने मानसिकता बनाउनु पर्यो, म मान्छे हुँ भनेर आफूलाई उभ्याउनु पर्यो! नत्र जातिय द्वन्दले ध्वस्त भएको रुवाण्डा बन्न बेर लाग्दैन हाम्रो नेपाल!

थुप्रै पुस्तकहरु पढें ज़िन्दगीमा तर अब एउटा यस्तो पुस्तक पढ्न मन छ जहाँ देशको समृदिको मात्र इतिहास लेखिएको होस्! के यो सम्भव छ? साझापाेष्टबाट साभार लेख

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु