कुवेतमाथि नेपालकाे ७ विकेटको सानदार जित

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि २५ बल बाँकी रहँदै ७ विकेटको सानदार जित हात पारेको छ।
नेपालको जितका लागि अर्धशतकीय पारी खेलेका कप्तान पारस खड्काले ४२ बलमा एक छक्का र ११ चौकासहित ६८ रन जोडे । उनी लामो शट खेल्ने मुहम्मद कशिफको बलमा शिराज खानबाट क्याच भएपनि आजको प्लेयर अफ द म्याच भए ।
नेपालको लागि ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
मोहम्मद काशिफले बिलाल ताहिरबाट क्याच गराउनु अघि मल्लले १३ बलमा २ चौका र १ छक्कासहित १९ रन जोडे ।
दिपेन्द्रसिंह ऐरी पनि २ बलमा १ रन जोड्दै मुहम्मद काशिफकै बलमा अड्नन इन्ड्रिसबाट क्याच आउट भए । ज्ञानेन्द्र आउट भएपछि पारसलाई साथ दिन आएका शरदसिंह भेष्वाकर ३० बलमा ३८ रन जोड्दै अविजित रहे । उनले एक छक्का र ४ चौका हिर्काए । रोहित पौडेल ९ बलमा एक चौकासहित ६ रन जोड्दै अविजित भए ।
कुवेतका लागि मोहम्मद काशिफले तीन विकेट लिए पनि पराजय रोक्न सकेनन् ।
त्यसअघि टस हारेर पहिला पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मोहम्मद काशिफले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रनमा अविजित रहे । ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरेका उनी एक रनले अर्धशतक बनाउन चुके ।
दोस्रो ओभरको पहिलो बलमै करण केसीले विकेटकिपर विनोद भण्डारीबाट ओपनर मिट भावसारलाई ५ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पहिलो बलमा वसन्त रेग्मीले रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे ।
त्यस्तै बसन्तले त्यसै ओभरको अन्तिम बलमा अदनान आर्डिसलाई शरद भेषवाकरबाट २५ रनमा क्याच आउट गराए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले १४ बलमा ५ चौका प्रहार गरे । मोहम्मद अस्लाम २५ बलमा २३ रनसहित क्याच आउट भए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३र३ विकेट लिएका छन् भने करण केसीले २ विकेट लिएका छन् । अविनाश बोहराले १ विकेट लिए । चोटका कारण मलेसियाविरुद्धको खेलमा विश्राम लिएका कप्तान पारस खड्का खेलमा फर्किएका छन् ।
नेपाल यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाबमा थियो । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो । अन्तिम खेल नेपालले भोलि आइतबा सिंगापुर विरुद्ध खेल्नेछ ।
सिंगापुर ३ मा २ खेल जित्दै ५ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । नेपाल भने ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।