जंगलमा पाइने च्याउ नखानुहाेला : चिकित्सक

काठमाडौं । वर्षायाममा पाइने च्याउ तरकारी भन्दा पनि मृत्युको कारण हुने गरेको छ । एक प्रकारले भन्दा च्याउ सर्वसाधारणका लागि काल नै भएको छ । यो बीचमा रुपन्देहीमा विषालु च्याउ खाँदा दुई घरपरिवारका १६ जना बिरामी परेका छन् । जिल्लाको रोहिणी गाउँपालिका–१ चनुली र सम्मरीमाई गाउँपालिका–५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी भएका हुन् । सबै बिरामीको भैरहवामा रहेको भीम अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका–५ थुमुवा पिपरहवामा घर नजिकैको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेका हुन् । उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । वर्षायाममा जंगलमा पाइने च्याउ नखान चिकित्सकहरुले अनुरोध गर्दै आइरहेका छन् ।