के कारणले हुन्छ महिनावारी गडबडी?

डा ज्वाला थापा
१० श्रावण २०७६, शुक्रबार ०८:२५

किशोरी अवस्थामा आउने शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो महिनावारी। महिनावारी १० देखि १२ वर्षको उमेरमा सुरु भई ४५ देखि ५५ वर्षको उमेरसम्म रहन्छ। नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ४–७ दिनसम्म ८० एमएल रगत जान्छ। महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बासयबाट एउटा डिम्ब निस्कन्छ, जसलाई ओभुलेसन पनि भनिन्छ।

के कारणले हुन्छ महिनावारी ?
शरीरमा हुने हइपोथालामस पिट्युटरी एक्सिस पूर्ण विकासित भएर हार्मोन उत्पादन भएपछि गर्भासयमा परिवर्तन आउँछ अनि महिनावारी हुन्छ।

शरीरमा हुने पिट्युटरी ग्यालन, थाइराइड ग्यालन, ओभरी र युटरसजस्ता चार ग्यालनबाट उत्पन्न भएपछि हार्मोनद्वारा महिनावारी हुनेगर्छ। शरीरमा हार्मोन परिपक्व नभएसम्म नियमित महिनावारी हुँदैन। जब शरीरमा हार्मोन परिपक्क बन्छ, तब मात्र महिनावारी नियमित हुन्छ।

महिनावारी भएको पहिलो दिन धेरै किशोरीको तल्लो पेट दुख्ने गर्छ। पेट दुख्नु सामान्य भए पनि सहन गर्न गाह्रो भएमा के कारणले दुखेको हो, चिकित्सकसँग जाँच गराउनुपर्छ।

महिनावारीको चक्र कतिको हुन्छ ?
हरेक महिना परिपक्व डिम्ब डिम्बासयबाट निस्केर डिम्बबाहिनी नलीहुँदै पाठेघरसम्म पुग्छ। महिनावारीको चक्र औसतमा २८ दिनको हुन्छ। २१ दिनदेखि ३५ दिनसम्म हुने महिनावारीलाई सामान्य मान्न सकिन्छ।

कसैलाई २१ दिनभन्दा कम समयमा महिनावारी हुन्छ भने कसैलाई महिनामा दुई पटक (१५/१५दिन) सम्म पनि महिनावारी हुनसक्छ। यसलाई पोलिमेनोरिया भन्ने गरिन्छ। कसैलाई ३५ दिनभन्दा बढी समयपछि पनि महिनावारी हुन्छ, त्यसलाई ओरिगोमेनिरिया भन्ने गरिन्छ। महिनावारीको समयमा बढी रगत जाने समस्यालाई मेनोरेजिया भनिन्छ। मेट्रोरेगिया रगत बग्ने समस्या हो भने पोष्टमेनोपोज महिनावारी सुकेको १ वर्षपछि रगत जाने समस्या हो।

किन हुन्छ महिनावारी गडबडी ?
महिनावारी गडबडी विभिन्न कारणले हुनेगर्छ। प्रायः किशोरीहरुलाई अन्डासय परिपक्व नबनेको कारणले गर्दा धेरै रगत जाने समस्या हुन्छ, जसले गर्दा महिनावारी गडबडी हुन्छ। जाँच गरेर रगत रोक्ने हार्मोनको औषधि खाँदा यो समस्या निको हुन्छ र पछि विस्तारै अन्डासय परिपक्व भई नियमित महिनावारी हुनथाल्छ।

२० देखि ४० वर्षका प्रजनन् उमेरका महिलामा विभिन्न कारणले महिनावारी गडबडी हुन्छ। जस्तैः पाठेघरमा मासु पलाएर, पाठेघर सुन्निएर, म्यालेनेसी अर्थात् पाठेघरको लाइन मोटो भएर, ओभुलेसन डिसब्यालेस, रगतसम्बन्धी विभिन्न समस्याले गर्दा हर्मोन डिसब्यालेन्स र पाठेघरमा हुने विभिन्न इन्फेक्सनको कारणले गर्दा पनि महिनावारी गडबडी हुन्छ।

थाइरोइड हर्मोनको कारणले पनि महिनावारी गडबडी हुनसक्छ। महिलाले प्रयोग गर्ने गर्भनिरोधक साधनहरु नरपलान्ट, तीन महिने सुई, कपर टी प्रयोगले पनि महिनावारी गडबडी हुनेगर्छ। महिनावारी नहुने हर्मोन चक्कीको सेवनले पनि महिनावारी गडबड हुन्छ।

महिनावारी सुक्ने उमेरका महिलामा पनि महिनावारी गडबडी हुनेगर्छ। यस्तो बेलामा दुई–तीन महिनामा महिनावारी हुन्छ। महिनावारी हुँदा कुनै बेला धेरै र कुनै बेला थोरै रगत जान्छ। कसैकसैलाई जाँच गरेर हेर्दा सबै सामान्य देखिए पनि महिनावारी गडबडी हुने समस्या देखिन्छ। त्यसको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

परीक्षण र उपचार
– सुरुमा कुन उमेरका महिलामा महिनावारी गडबडी भएको छ, पत्ता लगाउने।
– गर्भवती भए/नभएको पत्ता लगाउने।
– गर्भवती नभएको भए पाठेघरमा अल्ट्रासाउन्ड, भिडियो एक्स–रे गरेर हेर्ने।
– रगतको जाँच गरी थाइरोइड भए÷नभएको पत्ता लगाउने।
– इन्फेक्सनले गर्दा भएको हो भने पाठेघरको मुखको पानी निकालेर जाँच गर्ने।
– महिनावारी सुक्ने समय भएका महिलाको पाठेघरको मासु झिकेर बायोप्सी गर्ने।
– कारण पत्ता लगाइसकेपछि जे कारणले महिनावारी गडबडी भएको हो त्यसको उपचार गर्ने।

स्वास्थ्यखबरबाट लिइएकाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*