टि-२० बिश्वकप छनोटमा नेपालको हार

निरन्तर न्यूज
७ श्रावण २०७६, मंगलवार १७:१२

काठमाडौं । सिंगापुरमा आयोजना भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले कमजोर आँकिएको कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्‍यो ।

प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपाललाई पहिलो खेलमै झट्का लागेको हो । ६ जना बलर खेलाएको नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।

ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्यो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको सामान्य चुनौति पेश गर्‍यो ।

कप्तान र उपकप्तानले ५.६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन जोडे ।

तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।

जवाफी ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले धैर्यतापूर्वक खेले । इनाम उल हकले ३२ बलमा ४२ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाएका थिए । उनी रन आउट भएपछि भने टिम केही दवावमा आएको थियो । एक समय २ विकेट क्षतिमा ६८ रन बनाएको कतारले ९९ रनमा ६ विकेट गुमायो ।

नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए पनि खर्चिला भए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करण केसीको नाममा रह्यो । प्रतियोगितामा सहभागीहरुमध्ये नेपालमात्रै एक दिवसीय मान्यताप्राप्त राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु