तरकारी छोइ नसक्नु : व्यापारीले आफू खुसी मूल्य बढाएकाे आराेप

निरन्तर न्यूज
६ श्रावण २०७६, सोमबार १५:१२

काठमाडौं, ६ साउन । केही समययता ताजा तरकारीको मूल्य आकाशिँदो छ। कुनै-कुनै तरकारीको मूल्यमा ३ गुणाले वृद्धि भएको देखिन्छ ।

कालिमाटी तरकारी बजारमा पसेको बाढी, अविरल वर्षा, भारतीय तरकारीको आयात कम, विषादी परीक्षण जस्ता विषयले तरकारीको बजार भाउ ह्वात्तै बढेको ब्यापारीहरु बताउँछन् । बजारको माग आन्तरिक उत्पादनले मात्रै धानेकोले समेत तरकारीको मूल्य बढेको उनीहरुको भनाइ छ ।

यता कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले समेत वर्षाका कारण मूल्य आकाशिएको बताएको छ । वर्षा, बाढी, पहिरोका कारण तरकारी ढुवानी गर्न कठिनाई भएका कारण भाउ बढेको समितिको भनाइ छ।

सामान्यतया वर्षायाममा तरकारीको मूल्य बढ्ने गर्छ । तर यस पटक भने असामान्य रुपमा मूल्य बढिरहेको छ । बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगाएतका थुप्रै तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन गुणासम्म बृद्धि भएको छ।

तर भान्सामा दैनिक चाहिने तरकारीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । व्यापारीहरुले आफू खुसी तरकारीको मूल्य बढाएको भनेर उपभोक्ताले गुनासो गरेका छन् ।

बजारमा असार २६ गते गोलभेडाको मूल्य प्रतिकेजी ६८ रुपैयाँ थियो । तर अहिल ३४ रुपैयाँले बढेर औसत मूल्य ९२ रुपैयाँ पुगेको छ । बाहिर बजारमा ग्राहकहरुले लगभग प्रतिकेजी १४० देखि १५० रुपैयाँसम्म मूल्य तिर्ने गरेका छन्।

असार २६ गते भिण्डीको मूल्य ५८ रुपैयाँ थियो भने अहिले ११५ रुपैयाँ छ। भिण्डीको मूल्यमा झण्डै ६० रुपैयाँ बढेको छ । त्यस्तै दश दिन अघि तिते करेला प्रतिकेजी ४८ थियो भने अहिले २० रुपैयाँको अन्तरमा ७८ रुपैयाँ कायम छ।

दशदिन अघि मात्र ४८ रुपैयाँ मूल्यको परवर हाल ८८ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। भटमासकोशा ७८ थियो भने अहिले ११५ रुपैयाँ राखिएको छ। यस्तै घिरौला ५८ थियो भने हाल ७८ रुपैयाँ कायम गरिएको छ भने, लोकल काक्रो ५५ थियो भने हाल ११५ रुपैयाँ तोकिएको छ।

सबैले रुचाउने चम्सुर र रायोको सागको भाउ आकाशिएको छ। चम्सुर र रायोको मूल्य क्रमश: मूल्य १०५ र ९५ रुपैयाँ छ। यस्तै अदुवाको मूल्य १९५ थियो भने हाल ४० रुपैयाँले बढेर २ सय ३५ कायम गरिएको छ।

कालिमाटी तरकारी बजारमा औसत मूल्य तोकिएको भए पनि बाहिर खुद्रामा बेच्दा पसलेहरुले चर्को पैसा लगाउने गरेका छन्। आजभोली बजारमा यस्ता हरियो तरकारीको मूल्य कम्तिमा प्रतिकेजी १०० देखि १८० सम्म लगाउने गरेका छन्। कागती प्रतिकेजी २४० रुपैया औसत मूल्य तोकिएको भएपनि बजारमा प्रतिगोटा १० रुपैयाँमा बेच्दै आएका छन्।

तर न्यूरो १० दिन अगाडि ९५ रुपैयाँ थियो भने हालपनि ९५ नै कायम गरिएको छ।हरियो तरकारीको भाउ बढिरहँदा गुन्द्रुकको मूल्य २९० प्रतिकेजीमा स्थिर रहेको छ। चुकुन्दरको मूल्यमा पनि पहिलेको भन्दा घट्दो देखिन्छ। आज भन्दा १० दिन अगाडि ९५ रुपैयाँ भएको चुकुन्दर हाल ७५ रुपैयाँ रहेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको भाउ तोकिदिएको भएपनि बजारमा व्यापारीहरुले मनपरी रुपमा मूल्य लगाउने गरेकाले ग्राहक मारमा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*