यातायातका लागि अलग्गै प्राधिकरण गठनको तयारीमा सरकार

टेनिस रोका
६ श्रावण २०७६, सोमबार ०८:४५

काठमाडौं । सरकारले समग्र यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दै अलग्गै यातायात व्यवस्था प्राधिकरणको गठन गर्ने तयारी गरेको छ ।

सरकारले सिन्डिकेट अन्त्य गर्दै यातायात समितिलाई कम्पनीमा परिवर्तन गरेपछि त्यसको उचित व्यवस्थान गर्न प्राधिकरण गठन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको हो ।

हाल समग्र यातायात क्षेत्रको काम यातायात व्यवस्था विभागले गर्दै आएकोमा सरकारले प्राधिकरण नै गठन गर्ने तयारी गरेको हो ।

विभागबाट देशभर १२ वटा यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी, बाटो इजाजत र नवीकरणसम्बन्धी काम हुँदै आएको छ । विभागले संगठित एवं प्रभावकारी ढंगबाट यातायात सेवा सञ्चालन गराउन त्यसको आर्थिक तथा प्राविधिक पक्षमा अध्ययन तथा अनुसन्धान गर्ने वा गर्न लगाई त्यससम्बन्धी आवश्यक नीति निर्धारण गर्नेलगायत २६ प्रकारका काम गर्दै आएको छ ।

पछिल्लो समय भने सरकारले प्राधिकरण गठन गर्न त्यसको मस्यौदासमेत तयार गरेको छ भने सरकारले केही दिनमै मस्यौदा संसद्मा पेस गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको बताए । ‘प्राधिकरण गठनका लागि विधेयक तयार भएको छ, आगामी साता विधेयक संसद्मा पेस हुन्छ,’ उनले भने ।

मन्त्री महासेठलले यातायात व्यवसायीकै परामर्शमा प्राधिकरण गठन गर्न लागिएको बताएका छन् । उनले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि निरन्तर लागिरहेको समेत बताएका छन् ।

कामाडौंमा शुक्रबार कम्पनीमा रूपान्तरित यातायात व्यवसायीको सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले यातायात व्यवसायीले सरकारलाई सक्दो सहयोग गर्नुपर्नेसमेत बताएका छन् ।

मन्त्री महासेठले साझा यातायातसँग नडराउन यातायात व्यवसायीलाई आग्रह पनि गरे । सरकारले ३ अर्ब दिँदैमा साझासँग डराउनु नपर्ने उनको भनाइ थियो ।

साझालाई वृद्धवृद्धा, विद्यार्थी, अपांगता भएकालाई छुट दिएर सेवा दिन भनिएको बताउँदै उनले सरकारले कमाउने नभएर सेवामूलक भावले लगानी गरेको बताए । मन्त्रीले महासेठले यातायात व्यवसायीको लगानी सुरक्षित गर्न सरकार तयार रहेको बताउँदै कुनै पनि समस्या भए कुनै पनि बेला मन्त्रालयमा आउन आग्रह पनि गरे । राजधानीमा खबर छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*