हालसम्म कै सफल फिल्म ‘एभेन्जर्स : इण्डगेम’, ‘अवतार’ भन्दा बढि आम्दानी

निरन्तर न्यूज
५ श्रावण २०७६, आईतवार १३:४४

एजेन्सी, ५ साउन । ‘एभेन्जर्स : इण्डगेम’ हालसम्मकै सबैभन्दा सफल फिल्म बन्ने भएको छ ।

‘एभेन्जर्स: इण्डगेम’ ले यसअघि सबैभन्दा बढी धेरै कमाउन सफल भएको ‘अवतार’को किर्तीमानी तोडिने भएको हो ।

मार्भल सिनेमेटिक यूनिर्भसको सबैभन्दा ठूलो बजेटको फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले जेम्स क्यामरुनको फिल्म ‘अवतार’लाई विश्वव्यापी बक्स अफिसमा उछिनेको द हलिउड रिपोर्टरले बताएको हो

समाचार अनुसार पछिल्लो पटक जारी गरेको तथ्याङ्क ‘एभेन्जर्स: इण्डगेम’को कुल आय २.७८९२ अर्ब डलर छ । जुन ‘अवतार’भन्दा पाँच लाख डलर कम हो । तर नयाँ तथ्याङ्क आउदाँ यो फिल्मको कमाइ ‘अवतार’को भन्दा धेरै हुनेछ ।

फिल्मले बक्स अफिसमा पाएको सफलताबाट निकै खुशी भएको डिस्ने स्टुडियोको सह–अध्यक्ष र प्रमुख कला अधिकृत एलान हर्नले बताएकी छिन् । ‘फिल्म निर्माता मार्भल स्टुडियो र वाल्ट डिज्ने स्टुडियोको टिमलाई धेरै धेरै बधाई । एभेन्जर्सः इण्डगेमलाई यो ऐतिहासिक उचाईमा पु-याउने विश्वभरीका प्रसंशकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’, हर्नले एक विज्ञप्ती जारी गर्दै भनिन् ।

‘एभेन्जर्स: इण्डगेम’ले रिलिज भएको पहिलो हप्तामा नै १.२ अर्ब अमेरिकी डलर कमाएको थियो । पहिलो हप्ताको कमाइ हेरेर यो फिल्मले केही समयभित्र नै ‘अवतार’लाई उछिन्ने अनुमान गरिएको थियो । तर दोस्रो हप्तामा राम्रो कमाइ हुन नसकेपछि फिल्मलाई पुनः प्रदर्शनमा ल्याइएको थियो ।

पुनः प्रदर्शनको क्रममा फिल्म स्टुडियोले उसको पछिल्लो फिल्म ‘स्पाडरम्यानः फार फ्रम होम’को केही प्रचार सामाग्री थपेर बाहिर ल्याएको थियो ।
पुनः प्रदर्शन गरिएको फिल्ममा थप ६ मिनेटको अतिरिक्त सामग्री राखिएको छ । यसमा मार्भल कमिक्सका संस्थापक स्ट्यान लीप्रति श्रद्धान्जली पनि समावेश छ ।

‘एभेन्जर्सः इण्डगेम’ एभेन्जर्स शृङ्खलाका फिल्महरु मध्य सबैभन्दा राम्रो समिक्षा भएको फिल्म हो । समिक्षकहरुको समिक्षा संग्रह गर्ने ‘रोटन टम्याटो’ नामक वेबसाइटमा १०० मध्य ९४ प्रतिशत समिक्षकले यस फिल्मलाई राम्रो मानेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु