वर्षाकाे कारण झोलुङ्गे पुल उच्च जाेखिममा

निरन्तर न्यूज
३ श्रावण २०७६, शुक्रबार ०८:५९

३ साउन, बाजुरा । जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगङ्गा नदीका बाजुराको ताप्रीसेरा, द्वारी, तिपाडा, रापकका झोलुङ्गे पुल जोखिममा छन् । नदीका कारण छिमेकी जिल्ला अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् ।

जिल्लाको पूर्वी–उत्तरी भेगमा पर्ने कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । बुढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गेसम्म पानी पुगेपछि स्थानीयवासीले आवतजावत नै बन्द गरेका छन् । पुल पनि जीर्ण बन्दै गएको छ, नदी बढेर पुलसम्म पुगेपछि आवतजावत नै बन्द भएको स्थानीयवासी धन जैशीले बताए।

त्यस्तै बुढीगङ्गा नगरपालिका–२ ताप्रिसेराबाट त्रिवेणी नगरपालिका–९ बाँगापाटा जोड्ने पुल पनि पानीको बहाव बढेपछि पानी पुलसम्म आउनसक्ने भएकाले आवतजावत गर्न निकै जोखिम रहेको गोपाल थापाले बताए ।

कर्णालीको पिलीचौरमा रहेको झोलुङ्गे पुल सधैँको वर्षात्को समयमा जोखिममा पर्ने गरेको छ । पुलसँगै जोडिएका आठ परिवार पनि विस्थापित भएका छन् । पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा रहेको स्थानीय गङ्गराज गिरीले बताए । कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।

यस्तै वाई–बाँधु जोड्ने पुल, गोत्री–साप्पाटा पुल, हिमाली गाउँपालिकाको रुगिन–मुगु, बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाँउपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन् । उनले पुलसमेत छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका स्वामीकार्तिक गाउँपालिकामा रहेका वाइ, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित बनेको छ ।

त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् । अछाम, बाजुरा जोड्ने इकडीगाड पुल, सेरामा रहेको बुढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुलीखोला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

खोलामा आवतजावत गर्न अन्य विकल्प नभएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको गौमुल गाउँपालिकाका–२ का स्थानीयवासी धर्मबहादुर बोहराले बताए । जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ झोलुङ्गे पुल छन् । दशकाँै पुराना र थोत्रा झोलुङ्गे पुल वर्षात्को समयमा बाढीपहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।

चार वर्षअघि केन्द्रबाट विज्ञहरुको टोली आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको सङ्केतसमेत लगाएर गएका थिए । जिल्ला विकास समितिले स्थानीयवासीलाई पुल संरक्षण व्यक्ति भनेर तोक्ने गरेको छ । उनीहरुलाई वर्षेनी रु ८८ हजार २०० खर्च गर्ने गरेको छ । पुल जीर्ण भएको जिल्लादेखि केन्द्रसम्म जानकारी भए पनि मर्मतका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*