स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर ल्याइँदै

निरन्तर न्यूज
२ श्रावण २०७६, बिहीबार १०:१९

साउन २, काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्न मास प्रिन्टर (एकैपटक धेरै लाइसेन्स छाप्ने मेशिन) ल्याउने भएको छ । १० दिनभित्र प्रिन्टर आइसक्ने र आगामी असोजसम्म लाइसेन्स वितरणको समस्या सुल्झाउने विभागले दाबी गरेको छ ।

विभागले गत वैशाख १६ मा भारतको ‘मद्रास सेक्युरिटी प्रिन्टर्स’ सँग रू. ४ करोड ८३ लाख ९३ हजारमा गत असार २९ गतेभित्र मास प्रिन्टर ल्याउने सम्झौता गरेको थियो । कम्पनीले प्रिन्टर उपलब्ध गराउन ढिलाइ गरेको बताउँदै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उक्त कम्पनीलाई असार ३० गतेदेखि दैनिक २४ हजार १ सय ९६ रुपैयाँ ६८ पैसा जरीवाना गरिरहेको बताए ।

उनका अनुसार उल्लिखित मितिभित्र प्रिन्टर उपलब्ध नगराए प्रिन्टरको कुल मूल्यको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक जरीवाना कम्पनीले नेपाल सरकारलाई बुझाउनुपर्ने सम्झौता भएको थियो । बुधवार बिहान कम्पनीसँग भएको छलफलमा साउन १० गतेभित्र मास प्रिन्टर उपलब्ध गराउने सहमति भएको उनले बताए । साउन २० गतेभित्र कम्पनीले १० लाख लाइसेन्स कार्ड पनि उपलब्ध गराउने उनले जानकारी दिए ।

हाल स्मार्ट लाइसेन्सको लागि दैनिक आठ हजारभन्दा बढीले आवेदन दिने गरेका छन् । विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार विभागमा भएका चारओटा प्रिन्टरले दैनिक ३ हजारप्रति लाइसेन्स मात्र छाप्न सक्छन् । सोही कम्पनीबाट नै खरीद गरिएका नौओटा प्रिन्टरमध्ये पाँचओटा बिग्रिएर थन्किएका छन् ।

विभागले हालसम्म ६ लाख स्मार्ट लाइसेन्स वितरण गरेको खनालले बताए । यद्यपि, स्मार्ट लाइसेन्सको आवेदन दिएका ७ लाखभन्दा बढी चालक रसिदको भरमा सवारी चलाइरहेको विभागको तथ्यांक छ । विभागले २५ हजार लाइसेन्स रिप्रिन्ट गर्ने प्रक्रिया अघि बढाएको छ । चालकले प्राप्त गरेको केही महीनामै लाइसेन्सको रङ खुइलिने, नम्बर मेटिने जस्ता समस्या देखिएपछि विभागले मालिका इन्कर्पोरेटले छापेका २५ हजार लाइसेन्स रिप्रिन्ट गर्ने निर्णय गरेको थियो ।

मास प्रिन्टरको अभावका कारण लाइसेन्ससम्बन्धी विभिन्न समस्या आएको दाबी विभागको छ । मास प्रिन्टरले २४ घन्टा नै प्रतिघन्टा साढे चार सयको दरले कार्ड छाप्ने र अहिलेको जस्तो समस्या नआउने खनालले बताए ।

समस्या ट्राफिक व्यवस्थापनको
६ लाख स्मार्ट लाइसेन्स वितरण गरिसक्दा पनि लाइसेन्स चेकिङ र ट्राफिक कारबाही गर्न भने कठिन रहेको छ । हाल देशभर ‘कार्ड रिड’ गर्न दुईओटा कार्ड रिडिङ मेशिन छ तर ट्राफिक उल्लंघन गरेबापत कार्डमा रेकर्ड राख्न एउटा पनि रेकर्डर छैन ।

विभागका अनुसार हाल एउटा महानगरीय ट्राफिक प्रहरी महाशाखा र एउटा ट्राफिक प्रहरी निर्देशनालयमा कार्ड रिडिङ मेशिन छ । विभागका निर्देशक बन्धुप्रसाद बास्तोलाले ट्राफिकलाई चाहिने आवश्यक पूर्वाधार खरीद गर्न रू. १ करोड ३० लाख छुट्टाएकोमा चालू आव २०७६/७७ मा कार्ड रिडर र रेकर्डर खरीद गर्ने योजना रहेको जानकारी दिए । आर्थिक अभियानमा खबर छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*