वैदेशिक रोजगारबाट स्वदेसमा उद्यम गर्ने पु्रस्कृत

निरन्तर न्यूज
२९ असार २०७६, आईतवार २०:१७

काठमाडौं। वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गर्ने उद्यमी पुरस्कृत भएका छन्। विभिन्न देशमा काम गरी स्वदेशमा उद्यमी बनेका ६ जनालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ।

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका मध्येबाट विभिन्न व्यवसाय गर्ने व्यवसायीलाई मन्त्रालयले नगद ५० हजारदेखि १ लाख रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो।

उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट दुबईमा ११ वर्ष बसेर बाराको निजगढमा कान्तिपुर पोल्ट्री ब्रिडिङ र फार्म सञ्चालन नवराज पौड्याललाई एक लाख नगदसहित पुरस्कृत गरिएको छ।

पौड्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पुरस्कृत गरे। विदेशमा पोल्ट्रीफर्म, फोहर व्यवस्थापन तथा होटल क्षेत्रमा काम गरेका पौड्यालले ४८ जनालाई रोजगारी दिएका छन्।

त्यस्तै उद्यमी राष्ट्रिय पुरस्कारबाट झापाका दीपक चापागाई, भोजपुरका निरबहादुर राउत, सिन्धुलीका एकबहादुर सिङ्तान, हेटौंडाका मनोजकुमार भारती, झापाका शर्मिला अधिकारी, कैलालीका त्रिलोक पनेरु पुरस्कृत भएका छन्। उनीहरूलाई ५० हजार रुपैयाँ र प्रमाणापत्रसहित पुरस्कृत गरिएको छ।

दक्षिण कोरियामा प्लास्टिकका सामग्री उत्पादनमा काम गरेका चापागाईले झापामा डायमन्ड स्टिल उद्योग स्थापना गरी फलामका काँटी, नट वेल्ट, रड, स्टिल दराज, ग्रिल उत्पादन गर्दै आएका छन्। उनले कवाडीबाट सामान उत्पादन, फोहरबाट ग्यास उत्पादनसमेत सुरु गरेका छन्। उनले १७ जनालाई रोजगारी दिएका छन्।

युएईमा होटलमा काम गरेका राउत र मलेसियामा जनरल वर्कर र तरकारी खेती गरेका सिङ्तानले रामकोटमा मैत्री मंगल अर्गानिक कृषि फार्ममार्फत तरकारी खेती गर्दै आएका छन्। उनीहरूले १२८ रोपनीमा तरकारी खेती गरी ३० जनालाई रोजगारी दिएका छन्।

दक्षिण कोरियामा पानी जहाजका पार्टपुर्जामा रङ लगाउने काम गर्दै आएका भारतीले हेटौंडामा फिट वेल गार्मेन्ट सञ्चलन गरी तयारी पोशाक उत्पादन गर्छन्। उनले ९५ जनालाई रोजगारी दिएका छन्।

युएईमा ब्यूटी पार्लरको काम गरेकी अधिकारीले कीर्तिपुरमा रामलक्ष्मण कृषि फर्म, राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म सञ्चालन गरेकी छन्। उनले १५ जनानलाई रोजगारी दिएर पशुपालन, तरकारी र फलफूल खेती गर्दै आएकी छन्।

त्यस्तै दक्षिण कोरियामा गाडीका रबरका सामान बनाउने काम गर्दै आएका पनेरुले आलोक गार्मेन्ट उद्योग स्थापना गरी तयारी पोशाक उत्पादन गर्दै आएका छन्। उनले १५ जनालाई रोजगारी दिएका छन्। उनले कोरियन भाषा तयारी सेन्टरसमेत सञ्चालन गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*