सिंहदरबार आयो तर रित्तो आयो : मुख्यमन्त्री पौडेल

निरन्तर न्यूज
२५ असार २०७६, बुधबार १७:२०

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सिंहदरबार प्रदेश तह हुँदै स्थानीय तहसम्म आइपुगेको पनि रित्तो आएको बताउनु भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको स्थानीय तह समन्वय बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले श्रोत, साधन तथा जनशक्ति विनाको सिंहदरबार आएको भन्दै उनले प्रदेश लोकसेवा आयोगले १ वर्षभित्र कर्मचारी नियुक्त गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिको सक्रियता र क्रियाशिलताको कारण जिल्लाका १० वटै स्थानीय निकायमा बन्ने योजना, निर्माण लगायतका विकासका पूर्वाधारमा एकरुपता ल्याउनको लागि भूमिका रहने मुख्यमन्त्री पौडेलले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरु सहभागि बैठकमा मुख्यमन्त्री पौडेलले डोजर लगाएर डाँडा भत्काउनु समृद्धि होइन, समृद्धि हुन उत्पादनसँग जोडिनमा ध्यान दिन अनुरोध गर्नुभयो ।

प्रदेश सभासद प्रेम बहादुर पुलामीले समन्वय समितिलाई के कति अधिकार र के कस्तो अख्तियारी छ भन्ने कुरा किटान नहुँदा समस्या रहेको बताउनुभयो ।

प्रदेश मुख्य सचिव आनन्द ढकाले अनुगमन, समन्वय र सन्तुलित निकासको लागि मार्गदर्शन गर्ने भूमिका समन्वय समितिको रहने बताउनुभयो ।

बैठकमा सभाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बैठक शुरु भएपछि छलफल गरिने प्रस्तावका बारेमा जानकारी गराउनु भएको थियो ।

समन्वय समितिका उपप्रमुख भगवति पुडासैनीले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, बाग्मती गाउँपालिकाकी उपाध्यक्ष, धनमाया स्याङतान, मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई लगायतले आफ्नो धारण राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*