पत्रकार कुट्ने प्रहरीमाथि कारवाहीकाे माग
हेटौंडा । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार साँझ सादा पोशाकको प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले विज्ञप्ती जारी गर्दै भत्सर्ना गरेको छ ।
महासंघ मकवानपुरका सचिव गणेश अधिकारीद्वारा जारी विज्ञप्तीमा सर्वसाधारणलाई शान्ति सुरक्षा दिनुपर्ने जिम्मा पाएको प्रहरीले नै सादा पोशाकमा प्रहरी पठाएर पत्रकार माथि ज्यान मार्ने नियतले निर्घात कुटपिट गरेको घटना निन्दनीय छ भनेको छ ।
ययस दुःखद घटनाप्रति खेद प्रकट गर्दे घाइते पत्रकार कार्की शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।
यसरी ज्यान मार्ने नियतले पत्रकारमाथि आक्रमण गर्ने सादा पोशाकमा प्रहरीमाथि कडा भन्दा कडा कारवाहीको माग गर्दछौँ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्य पक्षलाई गम्भिर ध्यानाकर्षण गराउँदै निर्वाध रुपमा पत्रकारिता गर्न पाउने अवस्थाको सृजना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरि प्रेस यूनियन मकवानपुरले प्रेस विज्ञप्ती जारी गर्दै सिन्धुली शाखा अध्यक्ष कार्कीलाई कुटपिट गरि गम्भीर घाइते बनाउने सादा पोशकमा खटिएका भनिएका प्रहरीलाई तुरुनत कडा भन्दा कडा कारवाहीको माग गरेको छ । प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीद्वारा जारी विज्ञप्तीमा कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।