बाग्मती गाउँपालिकाका स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण

निरन्तर न्यूज
२२ असार २०७६, आईतवार १३:४३

बाग्मती । मकवानपुरको बाग्मती गाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परिक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो ।

राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले राईगाउँ स्वास्थ्यचौकीले सेवा सुविधा राम्रो दिएको बताएका थिए । परिक्षणको क्रममा बाग्मती गाउँपालिका २ राइगाउँका पुर्ण बहादुर विश्वकर्माले राईगाउँ स्वास्थ्य चौकीको लागि दिएको जग्गाको अवस्थाको बारेमा प्रश्न गरेको थिए । उनले स्वास्थ्य चौकीको लागि भनेर स्थानीय दलित समुदायले दिएको जग्गाको सदुपयोग हुनु पर्ने बताएका थिए । उक्त विषयमा बाग्मती गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख राजु सुनारीले जवाफ दिएकाथिए । उनले जग्गा पाउँदा निकै खुशी लागेको तर भवन बनाउन नसकेको स्विकार गरे ।

प्रदेश सरकार र संघिय सरकारले भवनको लागि बजेट छुट्याउन नसकेको र गाउँपालिकाले मात्रै नसक्ने भएकोले अब गाउँपालिकाले थप पहलगर्ने बताएका थिए । सामाजिक सुनुवाई कार्यक्रम अगाडी स्थानीय स्तरमै गरिएको सर्वेक्षणको जानकारी गराइएको थियो भने राईगाउँ स्वास्थ्य केन्द्रका प्रमुख फुलेश्वर पाण्डेले उक्त स्वास्थ्य केन्द्रले दिएको सेवा सुविधाको विषयमा जानकारी दिएका थिए ।

राईगाउँ स्वास्थ्य केन्द्रको सामाजिक परिक्षणमा बाग्मती– २ का वडाध्यक्ष जगत ब्लोन स्थानीय राजनीतिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वंसेविका लगायतको उपस्थिती रहेको थियो ।

यस्तै शनिबार नै बाग्मती गाउँपालिका –६ फापबारीको बेतीनि स्वास्थ्य केन्द्रमा पनि सामाजिक परिक्षण भएको छ । सामाजिक परिक्षणको क्रममा सेवाग्राहीहरु स्वास्थ्य केन्द्रको सेवाको विषयमा टिप्पणी गरेकाथिए । स्थानीय रेनुका चौँरेलले आमा समुहहरुको भेलाको विषयमा प्रश्न गरेकी थिइन् । यस्तै रेखा शाहले गाउँपालिकाको सेवा थप प्रभावकारी बनाउनआवश्यक रहेको बताईन् । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेको भक्तबहादुर श्रेष्ठले सामाजिक परिक्षणमा उपस्थितीको संख्या बढाउनुपर्ने बताएका थिए । उनले केन्द्रले सुत्केरी भत्ता तुरुन्तै किन दिन नसकेको भन्दै प्रश्न गरेका थिए ।

यस्तै नेपाली कांग्रेसका स्थानीय नेता भीम प्रसाद घिमिरेले स्वास्थ्य केन्द्रलाई सुधार गर्दे एक्स-रे मेसिन र डाक्टरको दरबन्दी राख्नुपर्ने माग गरेका थिए । स्थानीयहरुले एम्बुलेन्स सेवाको आम्दानी खर्चको अवस्था देखाउन माग समेत गरेका थिए । जवाफमा बेतीनी स्वास्थ्य केन्द्रका प्रमुख योगेन्द्र चौधरीले एम्बुलेन्सको अवस्था नाजुक भएकोले पटक पटक विग्रेको बताएका थिए । उनले एम्बुलेन्स त्यसै थन्काउनुको साटो चालकलाई चलाउन दिएर केन्द्रले मासिक ४ हजार लिने बताएका थिए ।

यस्तै गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख राजु सुनारीले आमा समुहहरु पुर्नगठन गरि सञ्चालन गर्नुपर्ने बताएका थिए । उनले सुत्केरी भत्ताको विषयमा जवाफ दिँदै सुत्केरी भएर २४ घण्टा पछि घर फर्काउँदा सुत्केरी भत्ता दिनुपर्ने बताउँदै त्यसको लागि आवश्यक प्रबन्ध गर्ने बताएका थिए । यस्तै डाक्टरको दरबन्दीको विषयमा बोल्दै गाउँपालिकाले सूचना जारी गर्दा पनि डाक्टर नआएकाे प्रष्टोक्ति गरे । वडाध्यक्ष ध्रुब थापाले स्थानीयहरुले पनि सरसफाईमा ध्यान दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु