१ सय ८ चेपाङ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाका १०८ चेपाङ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।
मकवानपुरका अति विपन्न चेपाङ समुदायले सामान्य रोगको समेत उचित उपचार गराउन नसकी अकालमै मृत्यु हुने देखिएपछि २०७६ भदौंबाट लागू हुनेगरि गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गरेर स्वास्थ्य विमा परिचय पत्र बितरण गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरि बीमा गरिएका चेपाङ परिवारलाई गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतले बीमा कार्ड हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष लामाका अनुसार १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ ।
परिचय पत्र बितरण गर्दै गाउँपालिका अध्यक्ष लामाले बिमाको कार्डलाई घरमा राखि धामि झाँक्रीको भरमा नपरि अस्पतालको सुविधा लिन चेपाङ समुदायलाई अनुरोध गरे ।