वडा अध्यक्षद्वारा आफ्नो तलब मदरसालाई सहयाेग
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो तलब मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् । न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसालाई सहयोग गरेका हुन् ।
उनले एक महिनाको तलब बराबरको चेक मदरसा समितिका अध्यक्षलाई हस्तान्तरण गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले वडा अध्यक्षलाई मासिक २५ हजार रुपैँया तलब दिँदै आएको छ ।
जरुवाटोलमा साढे १० धुर क्षेत्रफल जग्गामा निर्माण भइरहेको मदरसाको छत ढलानको काम शनिबार हुँदैछ । विभिन्न क्षेत्रबाट जुटेको बजेट र सहयोगबाट निर्माण भइरहेको भवन ढलान गर्न समस्या आउने देखेपछि विहीबार मदरसा व्यवस्थापन समिति र निर्माण समितिका पदाधिकारीहरुले वडा अध्यक्ष न्यौपानेसंग भेटेका थिए ।
सोही अवसरमा अध्यक्ष न्यौपानेले आफ्नो एक महिनाको तलब सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी समितिका सल्लाहकार हातिम अन्सारी र समिम मियाँ, सहसचिव जुनैजु मियाँ, सदस्य फिरोज खानलगायतले सहयोगको प्रशंसा गरेका थिए । ६ वटा कोठा रहेको भवनमा हाल कक्षा ३ सम्म अध्यापन हुँदै आएको मदरसाले जनाएको छ । विद्यालयमा हाल ४० जना अनाथ मुस्लिम विद्यार्थी अध्ययनरत छन् ।