जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड सभामुख घर्तीद्वारा उद्घाटन

जयमान बुढा मगर
१९ असार २०७६, बिहीबार १०:३१

रुकुम (पूर्व)मा जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गरिएको छ । जिल्लाका तीन स्थानीय तह भूमे, सिस्ने र पुथा उत्तरगंगा गाउँपालिका रहेका छन् । आ–आफ्नो स्थानीय तहका विद्यालयबाट खेलाडीलाई छनोट गरी रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोटको प्रांगणमा जिल्लाका तीन स्थानीय तहका विद्यालयका विद्यार्थीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् । यसअघि तीन स्थानीय तहले नै स्थानीय तह स्तरीय शिल्ड गरिसके छन् । जसमा आ–आाफ्नो स्थानीय तहका विद्यालयले विद्यार्र्थीलाई छनोट गरी खेलकूदमा सहभागी गराएका हुन् ।

राष्ट्रीय खेलकूद परिषद्ले राष्ट्रपति रनिङ शिल्डको नियम परिमार्जन गरेपछि रनिङ शिल्ड सञ्चालनको लागि स्थानीय तह, जिल्ला स्तरीय र प्रदेश स्तरीय शिल्ड सञ्चालन गर्ने प्रपदान अनुसार उक्त खेल सञ्चालन गरिएको जिल्ला खेलकूद समिति रुकुमपूर्वका अध्यक्ष हरिबहादुर थापाले बताए । उनका अनुसार, जिल्ला खेलकूद समिति रुकुमपूर्वको आयोजना रहेकोमा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा खेलसञ्चालन समिति गठन गरी तीन स्थानीय तहको समन्वयमा उक्त शिल्ड सञ्चालन गरीएको हो ।

२० गते सम्म चल्ने शिल्डको बुधबार ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले उद्घाटन गरे । उनले उक्त अन्तर मावि जिल्ला स्तरीय रनिङ शिल्डले विद्यार्थी तथा बालबालिकाको सर्वागीण विकासका लागि आयोजना गरेको शिल्ड फलदायी हुने बताए । उक्त रनिङ शिल्ड खेलकूद आयोजनाले विद्यार्थीमा सामूहिक एकअर्कामा भाइचरा सहितको सद्भाव गृहकार्यका लागि विद्यार्थीमा चौतर्फी विकास हुने भनाइ राखे । सरकारले पछिल्लो समयमा खेलकूद क्षेत्रको विकासमा लागि लगानी गर्दै आएको र यसमा स्थानीय सरकार पनि सक्रिया भएको सभामुख घर्तीले बताए ।

प्रतियोगितामा तीन स्थानीय तह विद्यालयका झण्डै साढे चार सय बढी विद्यार्थीले रनिङ शिल्डका विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । विद्यार्थीलाई भलिबल, कवड्डी, एथलेठिक्स दौड, रिले त्यसैगरी उफ्रिने र फ्याक्ने, हाईजम्प, त्रिपलजम्प, लङजम्प, ज्यापलिङ थ्रोमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । जिल्ला स्तरीय रनिङ शिल्ड समापन भइसकेपछि प्रदेशस्तरीय रनिङ शिल्डको लागि यही असार २५ गते पाल्पामा हुन गइराखेको शिल्डमा उत्कृष्ट खेलाडीलाई छनोट गरी पठाइने अध्यक्ष थापाले जानकारी दिए ।

विद्यार्थी राष्ट्रका गहना हुन त्यसैले विद्यार्थी बालबालिकाका लागि जिल्लाका तीन स्थानीय तहसँग एकअर्कामा सद्भावका साथ समन्वयका कार्य गरिराखेको जिल्ला समन्वय समितिका प्रमुख तथा उक्त शिल्ड सञ्चालन समितिका संयोजक गजेन्द्रबहादुर ओलीले भनाइ व्यक्त गरे ।

कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, रुकुमपूर्व (नेकपा)का जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ र नेपाली काँग्रेस जिल्ला समितिका सचिव भिमबहादुर खड्का लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु