जनताको घरमा बास बसिरहेका कार्यकर्तामाथि तीव्र दमन : नेकपा
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सोमबार विज्ञप्ति निकाल्दै घटनाको निन्दा र भर्त्सना गरेका छन् ।
प्रवक्ता प्रकाण्डले तत्काल दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । ‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपी ओली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी यसको घोर निन्दा एवम् भर्त्सना गर्दछ ।’
‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने ओली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाण्डले अविलम्ब दमन नरोके नेकपाले शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिँदै भनेका छन्, ‘अलिलम्ब दमन नरोके शक्तिशाली प्रतिरोध गर्दछौं, त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी–बादल सरकार हुनेछ ।’