भूमे र सिस्नेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु : पुथामा हुन सकेको छैन

रुकुमपूर्व । रुकुमपूर्वका तीन स्थानीय तह मध्य भूमे र सिस्ने गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । तर पुथा उत्तरगंगा गाउँपालिकामा भने प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन सकेको छैन ।
रोजगारी पाएका कार्यक्रम अन्तर्गत पहिलो चरणमा भूमेमा महिला ६० र पुरुष १ सय ८० गरी जम्मा २ सय ४० जना र सिस्नेमा २ सय २९ जना रहेको बताइएको छ । दुई गाउँपालिकामा गरी ४ सय ६९ जना रोजगारीमा जोडिएका छन् । कार्यक्रमको मापदण्डअनुसार १८ देखि ५९ वर्ष उमेर समूहका परिवारमा एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलगन नभएको तथा तोकिए बमोजिमको आय आर्जन नभएका आधारमा बेरोजगारलाई रोजगारीमा छनोट गरिएको हो ।
पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरका अनुसार फारम भरी सकेकोमा अबको दुई तीन दिनमा नै रोजगार कार्यक्रमको आरम्भ गर्ने जानकारी दिए । भरीएको फारमलाई रोजगारी प्रदान गरिने मापदण्डका आधारमा छनोट कार्य भइराखेको अध्यक्षले बताए ।
बेरोजगारलाई वर्षमा सय दिन रोजगारी दिने उद्देश्यले सञ्चालनमा आएको कार्यक्रम मार्फत ३ गाउँपालिकाले नै कार्यविधि बनाएको छ । चालु आव भित्रै काम गर्नेगरी जिल्लाका ३ वटै स्थानीय तहमा बजेट आइसकेको छ । ३ स्थानीय तहका लागि ८३ लाख रुपैयाँ जिल्लामा आएको छ । ३ गाउँपालिकामा रहेको बेरोजगारलाई रोजगारी प्रदान गर्न भन्दै संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उक्त बजेट जिल्लामा पठाएको हो । ३ स्थानीय तहले नै वडा–वडामा बेरोजगार फारम भरेका थिए ।
३ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट भूमेमा २९ लाख, सिस्ने र पुथामा २७/२७ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाको कार्यविधिका आधारमा कार्यक्रम कार्यान्वयन गरिसकेको भूमे गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक वसन्ती सुवेदीले बताए ।
३ वटै गाउँपालिकाको कार्यविधिमा गोरेटो बाटो, मुहान संरक्षण, सरसफाई, स्याउ बगैंचा निर्माण रहेको छ । त्यसैगरी शहिद पार्क, वृक्षरोपण, खानेपानी तथा भवन मर्मत, पर्यटन विकासका लागि युद्ध फिचर निर्माण जस्ता भौतिक विकासका काम समेत प्राथमिकतामा जोडिएका छन् ।
कार्यक्रम अनुसार श्रमिकलाई दक्ष र अदक्ष गरी दुई भागमा छुट्याइएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । ‘ दक्ष मजदुरले दैनिक ८ घण्टा काम गरेबापतको ज्याला रकम ८ सय ५० रुपैया र अदक्षले ५ सय ५० रुपयाँ पाउनेछन् ।’ उनले भने, ‘भूमेमा अहिले अदक्ष जनशक्ति मात्र रहेका छन् ।’ त्यसैगरी सिस्नेमा पनि अदक्ष जनशक्ति रहेको बताइएको छ । बजेटको ७० प्रतिशत रकम श्रमिक ज्याला र अन्य रकम औजार तथा सामग्री खरिद लगायत कार्यमा खर्च हुने भएको छ ।
रोजगारीका लागि भूमेमा ५ सय ३० महिला र ७ सय १८ पुरुष गरी जम्मा १ हजार २ सय ४८ जनाले आवेदन दिएका थिए । भूमेमा क्रमशः १ देखि ९ वडामा १०, १४, १३, ६३, १९, १७, १५, ३० र ५९ जनाले रोजगारी कार्यक्रममा छनौट भएकामा आ–आफ्नो वडामा काम गरिराखेका छन् ।
प्रत्येक आर्थिक वर्षमा बेरोजगार फारम भरी मापदण्डका आधारमा आफ्नै गाउँघरमा रोजगारमा जोडिदै जाने भएकोले आगामी दिनमा बेरोजगारीको समस्या विस्तारै टर्दै जाने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले विश्वास व्यक्त गरे ।