द्रूतमार्ग निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन

निरन्तर न्यूज
९ असार २०७६, सोमबार १६:५१

काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं-निजगढ द्रूतमार्ग निर्माण तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएको हो । आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले बताइन् ।

समितिले मन्त्रिपरिषद् बैठकमा पेश गरेको उक्त आयोजनाको डीपीआर तत्काल स्विकृत गरी नेपाली सेनालाई दिन भन्दै सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले आयोजनाको लागत र समय दुवै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘नेपाली सेनाले आगामी २ वर्षभित्र यो आयोजना निर्माणको काम सम्पन्न गर्न सक्दैन’, समितिका सदस्य गणेश पहाडीले भने, ‘अहिलेसम्म पुल र सुरुङ निर्माणको काम सुरु नभएकाले पनि यो आयोजनाको काम आगामी २ वर्ष भित्र नेपाली सेनाले सम्पन्न गर्न नसक्ने मेरो निष्कर्ष छ ।’

समितिका अर्का सदस्य जिपछिरिङ लामाले आयोजनाको काम आगामी ५ वर्ष भित्र पनि नेपाली सेनाले सम्पन्न गर्न नसक्ने दाबी गरे ।

नेपाली सेनाले सुरुङ निर्माणका कारण यो आयोजनाको लागत बढ्न सक्ने बताएको छ । २०७८ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको लागत बढेर पौने २ खर्ब रुपैयाँ पुग्ने नेपाली सेनाको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*