इथियोपियाका सेना प्रमुखमाथि गोली प्रहार
काठमाडौं। इथियोपियाका सेना प्रमुखमाथि गोली प्रहार भएको छ । सत्ता पलट गर्न चाहने एक समूहसँग मुडभेड हुँदा सेना प्रमुखमाथि गोली चलाइएको समाचार माध्यमले जनाएका छन् ।
शनिबार ‘कु’ को प्रयास गरेको एक समूहसँगको मुडभेडमा इथियोपियाका सेना प्रमुख सियरे मेकोनेनमाथि गोली प्रहार भएको हो । उक्त मुडभेडमा मेकोनेनसहित कैयौं अधिकारी घाइते भएको र केहीको ज्यान गएको इथियोपियाली प्रधानमन्त्री अबिइ अहमदले बताएका छन् ।
‘मेकोनेनमाथि उनी नजिकका मानिसहरुले गोली चलाएका हुन्’, सरकारी टेलिभिजनसँग कुरा गर्दै अहमदले भने ।
इथियोपियाको अमराहा प्रान्तमा शनिबार ‘कु’ प्रयास भएको थियो । प्रान्तीय सरकारका उच्च अधिकारीको बैठकमा सत्ता पलटको प्रयास भएको समाचारमा जनाइएको छ ।
‘कु’लाई असफल बनाउने क्रममा सेनाका १ जना वरिष्ठ अधिकारीसहित मेकोनेनले ज्यान गुमाएको स्थानीय समाचार माध्यमले जनाएका छन् । तर सेना प्रमुख मेकोनेनको ज्यान गएको वा घाइते मात्रै भएको भनेर अझै पुष्टि हुन सकेको छैन ।
सत्ता पटलक प्रयासमा संलग्न अधिकांश व्यक्तिलाई पक्राउ गरिएको र केही व्यक्ति अझै फरार रहेको समाचारमा जनाइएको छ ।