अब एक पटक छलाङ हान्ने आँट गराैँ : विश्वदीप पाण्डे

निरन्तर न्यूज
५ असार २०७६, बिहीबार १८:०८

काठमाडौं । समाजवादी पार्टी नेपालका युवा नेता विश्वदीप पाण्डेले पुराना र भ्रष्ट राजनीतिक शक्तिहरूबाट मुलुककाे समृद्धि सम्भव नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा उनले स्टाटस लेख्दै भनेका छन्, ‘पुराना र भ्रष्ट राजनीतिक शक्तिहरूबाट यो मुलुकाे समृद्धि त के यथास्थितिबाट पनि पार नपाउने र मुलुक झन् अधाेगतितिर जाने विगतका केही घटनाक्रमले पुष्टि गरिसकेकाेले त्यसकाे बोध शायद अब धेरैलाई हुँदै गएको हुनुपर्छ ।’

उनले अब एकपटक पुन: हिमाल, पहाड र तराई/मधेश जोड्ने, मुलुककाे सप्तरंगी विविधतालाई आत्मसात गर्ने र मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने सशक्त राजनीतिक शक्ति निर्माणको लागि नयाँ शिराबाट बहस र संवाद गर्नुपर्ने बेला आएको बताए ।

उनले मुलुकको परिवर्तनप्रति प्रतिवद्ध शक्ति र समूहहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले भनेका छन्, ‘कुनै आग्रह पूर्वाग्रह विना, कुनै सङ्कोच विना, राजनैतिक परिवर्तनलाई संस्थागत गर्दै नेपाललाई उन्नतिको बाटोमा लम्काउने लक्ष्यसहित संवादहरूकाे थालनी किन नगर्ने ? परिवर्तनप्रति प्रतिवद्ध शक्ति र समूहहरु एक ठाउँ किन नउभिने ? पूर्व सहयात्री कमरेडहरू अब एक पटक तपाईंहरूले भन्ने गरे जस्तो छलाङ हान्ने आँट किन नगर्ने ?’

उनले थपे, ‘अबको समय २०५२ सालपछिका सबै क्रान्तिकारी, अग्रगामी, प्रगतिशील राजनीतिक शक्तिहरूबीचको एकता र रूपान्तरणकाे समय हो । पछिल्लो विकसित राजनीतिक घटनाक्रम हेर्दा अब संघीयता लगायत सबै अग्रगामी राजनीतिक उपलब्धीको रक्षा र संस्थागत गर्नकाे लागि पनि यो एकता र रूपान्तरण अत्यावश्यक भएको छ ।’

लाेकान्तरबाट साभार गरिएकाे समाचार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*