संसद अवरुद्ध गरेर कांग्रेसले संसदको गरिमा घटायो : प्रधानमन्त्री

निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १८:११

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अति दक्षिणपन्थी बनेको आरोप लगाएका छन् ।

युरोप भ्रमणपछि संसदलाई सम्बोधन गर्न कांग्रेसले रोकेपछि मंगलबार पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने कांग्रेसको पुरानै बानीले देश परिवर्तन हुन नसकेको आरोप लगाएका हुन् । उनले कांग्रेस अहिले पनि कांग्रेस त्यही दिशामा अघि बढिरहेको तर्क गरे ।

संसद अवरुद्ध गरेर विपक्षीले संसदको गरिमा घटाउने काम गरेको पनि उनले बताए । ठूलो बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व रहेको उनले जोड दिए ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले संसदको गरिमा घटाएर त्यो उपलब्धि रक्षा हुन नसक्ने चेतावनी दिए । अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी फुत्त कतैबाट निस्किएर सरकारमा पुगेको नभई लामो उतारचढाव पार गर्दै आएको उनले बताए । ‘हामी कतैबाट आएका होइनौं, हामी पनि आन्दोलनको प्रक्रियाबाट आएका हौं,’ उनले भने ।

मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको भन्दै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएर लागेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाए ।

उनले जुन विधेयक आएपनि सडकमा नजान आग्रह गरे । ‘माइतीघर साँच्चै माइतीघर बनेको छ, जे समस्या भए पनि दौडेर पुगिहाल्ने,’ उनले भने, ‘संसद छ नि, त्यहाँ आएर छलफल गरिसकिन्छ नि !’

कतिपय शक्तिले आन्दोलन गर्न उक्साइरहेको आरोप लगाउँदै उक्साउनेहरु पर्दापछाडि रहेको र पीडित जनता नै बनिरहेको तर्क अगाडि सारे ।

पत्रकार सम्मेलनमा बोल्दै ओलीले वर्तमान सरकार स्वतन्त्र प्रेस र लोकतन्त्रमा प्रतिबद्ध रहेको बताए । उनले अहिलेका केही तत्त्वहरूले सरकार विरुद्धका क्रियाकलाप केन्द्रित गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले कसैले अवरोध गर्दैमा समृद्धिको यात्रा नरोकिने बताए । उनले समृद्धि देख्न नचाहने शक्तिले खेल्न खोजेको आरोप लगाए । उनले आफ्नो युरोप भ्रमण निक्कै सफल भएको प्रतिक्रिया दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*