रुकुमपूर्वमा लेकमा धारधुप तथा फूल टिपेर गाउँगाउँमा भूम्या नाँच आरम्भ

निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १४:५६

रुकुमपूर्व । मगर समुदायको मुख्य पर्व सुरु भएको छ । लेक तथा अग्ला पहाडमा बासबसी बिहान भूमि देवतालाई धारधुप हालिदिएर रुकुमपूर्वमा भूम्या नाँचको आरम्भ गरिएको हो । रुकुमपूर्वमा गाउँगाउँमा आजबाट विधिगत रुपमा धारधुप, लेकमा फूल टिपी लेकबाट गाउँमा जरेर गाउँमा भेडाको बली दिएर धुमधामका साथ नाँचगान गरेर मनाई राखेका छन् ।

भूम्यामा मगरहरू भूमि देउताको पूजा गर्छन् । भूम्या मनाउने जेठ मसान्त दिन देखि असार ५ गते सम्म मुख्या अवसरमा नाँचगान गरी मनाउछौँ भूमे २ काँक्रीका मदन रोका मगरले बताए । उनले भने, ‘प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा भूमिको पूजापाठसँगै २२ चाल नाचिन्छ ।’ परम्परागत भेषभुषामा युवक–युवती लेकमा फूल टिप्न अग्ला पहाडमा जान्छन्न् । अर्नीपानी सगुन बोकेर लेक जानेहरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन् । फूल लेकाली देवताको सगुनको रुपमा टिप्ने र अग्रहण गर्दछन् । उनीहरूले ल्याएको फूल गाउँको सबै घरमा पुर्याइन्छ । पूजारी गाउँलेले खटाएको हुन्छ उक्त पूजारीले लेकमा धजा, धारधुप तथा अक्षता सहित पूजारीले भूमि देवतासँग गाउँमा राम्रो होस् भनि बाचा कबुल गरेर लेकबाट नै शिरमा रङगीविरङगी फूल तथा मगर पोसाकमा लहरै लागेर नाँच्दै गाउँ जर्दछन् ।

पूजाको लागि गाउँमा एक मार (भेडा, बोका, कुखुरा) गाउँलेले तयारी गरिदिराखेका हुन्छन् । त्यस मारलाई पूजारीले गाउँभरी दुलाउँछ । त्यसलगतै गाउँमा महिलाहरूले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका–जमरा जस्ता घर लिपपोत गरेर निस्किएको फोहारलाई घरबाहिर फाल्छन् । त्यसैलाई नै बल हाल्ने बन्दछन् । बल हालेपछि पहिला तयारी गरिदा खिरी लोकोबाङ्गे नामक दिइएको हुन्छ । त्यसपछि बल पूजा अर्थात भूम्या नाचको नाममा परिन्त गरिन्छ । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ ।

भूम्या नाचको नामलाई ठाउँ अनुसारका नाम उच्चारण गर्ने गर्दछन् । जस्तैः बल्क, झ्यामकुटरी, नाम्को आदि नामले स्थानीय भाषामा प्रयोग गरेर नाम राखेको पाइन्छ । अब ५ गते सम्म हरेक दिन चोकचौतारोमा सर्वसाधारण जम्मा भई नाँचगान गर्दछन् । भूम्या नाच्ने आफै नै लयका स्थानीय ठेटमा गाउँछन् भने बाजा बजाउनेको टिम अर्को छुट्टै हुन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै र मौलिक पोसाकमा लहरै गरी भूम्या नाचिन्छ । मगर समुदायले भूम्या अर्थात् बल पूजालाई वर्षभरिको ठूलो पर्वका रूपमा लिन्छन् ।

वर्षातको समयमा बाढीपहिरो नझरोस्, बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस्, बालीनाली सप्रियोस् भन्ने जनविश्वासका साथ बल पूजा अर्थात भूम्या पर्वको मुख्या मान्यता रहेको मगर समुदायका अगुवाको भनाई छ । अहिले हिउदे बाली भित्र्याउने र वर्षे बाली लगाउने काममा व्यस्त छन् । यसलाई कुनै पनि हानी नहोस् भनी लेक र गाउँका देउतालाई पुजिन्छ । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले यस पर्वको मुख्य उद्देश्य आफ्नो भूमि र भूमि देउताप्रतिको श्रद्धा गर्नु हो । ‘यसरी बल पूजा गर्दा देउता खुसी हुने र हानि हुनबाट जोगिने जनविश्वास छ ।’ पालिकाको नाम समेत यसै भूम्या पर्वबाट नै नामकरण गरिएको हो ।

भूमे गाउँपालिकाले अहिले वार्षिक कार्यक्रम आयोजना गरि भूम्या पर्वको अवसरमा विविध संस्कृतिक कार्यक्रम आयोजना गरेर यस पर्वलाई थप संरक्षण र प्रवद्र्धन गर्नमा ऊर्जा मिलेको स्थानीयको भनाई रहेको छ । यस वर्षमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना असार २ गते देखि खाबाङ बगरमा हुँदैछ । उक्त कार्यक्रमले मौलिक सांस्कृतिलाई संरक्षण गर्ने उद्देश्य रहेको पालिकाले जनाएको छ । उक्त सांस्कृतिक प्रतियोगिता गराई पर्यटन प्रवद्र्धनको लागि भिडियो डोकुमिन्टरी गर्ने आयोजक सँस्कृति तथा पर्यटन विकास केन्द्र नेपालका अध्यक्ष पहलसिंह घर्ती मगरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*