मतपत्र च्यातेका २ जना पूर्व माओवादी कार्यकर्ता अदालतद्वारा कसुर ठहर

निरन्तर न्यूज
३१ जेष्ठ २०७६, शुक्रबार ११:३६

चितवन । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मतपत्र च्यातिएको दुई वर्ष पुरानो मुद्दामा बिहीबार चितवन जिल्ला अदालतले  २ जना पूर्व माओवादी कार्यकर्तालाई कसुरदार ठहर गरेको छ ।

अदालतको आदेशपछि तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपाने कसुरदार ठहर भएका छन् ।

जिल्ला अदालत चितवनले दुबै जनाको सजाय निर्धारणका लागि असार ५ गते पेसी तोकेको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा १ अनुसार म‍तपत्र च्यात्ने कसुरदारलाई एक लाख जरिवाना र २ वर्षको कैद सजाय हुने व्यवस्था छ ।

सिवाकोटी र मधु न्यौपानेले स्थानीय तह निर्वाचनका बेला मतगणना भइरहँदा मतपत्र च्यातेका थिए । दुबै जनाले राति ११ : ४५ बजे मतगणना भइरहेका बेला कर्मचारी बसेको ठाउँमा फाल हानेर मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि दुबै जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान गर्नु परेको थियो । भरतपुर महानगर पालिकाको मेयरमा तत्कालीन माओवादी नेतृ रेण दाहाल र एमालेका देवी प्रसाद ज्ञवाली प्रतिस्पर्धामा उत्रिएका थिए । ज्ञवाली एमालेको तर्फबाट र दाहाल कांग्रेस-माओवादी गठबन्धनबाट मेयर पदका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त निर्वाचनमा दाहाल विजयी भएको थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*