हृदयाघातका कारण पूर्वशिक्षामन्त्री धनीराम पौडेलको आज निधन

निरन्तर न्यूज
३१ जेष्ठ २०७६, शुक्रबार १०:५३

काठमाडौँ  । पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ ।

उनको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उनको निधन भएको हो ।

माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् ।

पौडेल संविधानसभाको सदस्य थिए। पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्थ्यो । पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन् । उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य छन् । उनका दुई छोरी छन् । पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनको शव बघौडा अस्पतालमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*