विदेशमा पढ्न जान अनिवार्य १२ पास गर्नुपर्ने
काठमाडौं । एसईई उत्तीर्ण गरेपछि नेपाली विद्यार्थी अस्ट्रेलिया, जापान, अमेरिका, बंगलादेशलगायत देशमा पढ्न जाने क्रम बढेपछि सरकारले विदेशमा अध्ययन गर्न जानका लागि कम्तीमा १२ कक्षा पास गर्नैपर्ने नियम लागू गरेको छ ।
अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले अनिवार्य रूपमा सरकारबाट स्वीकृति (नो अब्जेक्सन लेटर) लिनुपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ पास नगरेका विद्यार्थीलाई त्यस्तो अनुमति दिन रोकेको छ ।
मन्त्रालयको निर्देशनमा १२ कक्षासम्म माध्यामिक शिक्षा नै भएकाले विद्यालय शिक्षा सकेपछि मात्रै उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई अध्ययन स्वीकृति दिने उल्लेख छ । संविधान र ऐनअनुसार १२ कक्षासम्म विद्यालय शिक्षा भइसकेकले सरकारले १२ पास नगरी नो अब्जेक्सन लेटर नदिने निर्णय गरेको हो ।
स्नातक, स्नातकोत्तर र विद्यावारिधिलगायतका लागि नो अब्जेक्सन लेटर दिन कुनै बाधा नरहेको तर विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गरेको मन्त्रालय स्रोले बतायो ।