सोमालियादेखि आउँछ नेपालमा मनसुन
काठमाडौं । म्यानमार र दक्षिण एसियाका सात मुलुकले देशको अर्थतन्त्र चलाउन आ(आफ्नै अर्थमन्त्री नियुक्त गर्छन्। तीमध्ये केहीले अर्थतन्त्रलाई उभो लगाउँछन्, केहीले अर्थतन्त्रमा कुनै सुधार ल्याउन सक्दैनन्। कहिलेकाँही बिगार्छन्।
केही वर्षमा यी मुलुकका अर्थमन्त्री फेरिइरहन्छन्। तपाईंलाई थाहा छ, यो क्षेत्रमा कहिल्यै पनि नफेरिने अर्थमन्त्री पनि छ। जसले बजेट भाषण गर्दैन तर यो क्षेत्रका सबै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्छ।
युगौंदेखि निरन्तर आफ्नो जिम्मेवारी बहन गरिरहेको यो अर्थमन्त्री हो( मनसुन। जुन यसपालि पनि दक्षिण भारतमा आइसकेको छ। एक दुई दिनमा नेपाल पस्नेछ।
नेपालको सन्दर्भमा त अर्थमन्त्रीभन्दा बढी मनसुनको हुन्छ।
नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ। त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ। मनसुन समयमै आए बालीनाली सप्रिन्छ। बाली उत्पादन बढ्छ। देशको कुल ग्राहस्थ उत्पादन बढ्छ।
मनसुनले बालीनालीको उत्पादकत्वमात्र बढाउँदैन धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजना पानी भरिन्छ। रनअफ दी रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ। बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन्। अर्थतन्त्र चलायमान हुन्छ।
यति महत्वपूर्ण भूमिका भएको मनसुन नेपालमा आइपुग्छ कहाँबाटरु
धेरैले भन्छन्( यो बंगालको खाडीबाट आउँछ।
यो सतप्रतिशत सही होइन। बंगालको खाडीबाट हैन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन। बंगालको खाडी आइपुग्नु अघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ। भूमध्य रेखामा पर्ने पुर्वी अफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्छ, नेपाल आइपुग्ने मनसुन।
त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।
पूर्वीअफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नु पर्छ।
भूमध्य रेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ। उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ। त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ। दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए। एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन्। जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन्। मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक फरक भइरहन्छ।
दुबै ध्रुव नजिकै बहने त्यस्तो हावालाई पोलार जेट भनिन्छ। ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ।
चिसोमा यिनीहरू भूमध्य रेखातिर सर्दै सर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन्।
जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलार्द्धको सव ट्रपिकल जेट स्ट्रिमबाट नयाँ जेट स्ट्रिम बन्छ।
नेपालमा आउने मनसुन पनि त्यस्तै एउटा ट्रपिकल जेट स्ट्रिमबाट बन्छ। जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालिया नजिक बन्छ।
‘सोमालिया नजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘ यसले सोमालिबाट उत्तर पूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ।’
नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ। मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ।
केरलाबाट पनि मनसुन सिधै नेपाल आउदैन।
केरलाबाट यो दुईतिर बाँडिन्छ।
एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न। अर्को समुन्द्र हुँदै बंगालको खाडी आइपुग्छ। यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ।
बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन। त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली गरिदिनु पर्छ।
नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ। पश्चिमी वायु उत्तर नसरेसम्म मनसुनको केही चल्दैन।
‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ मानन्धरले भनिन्,‘अप्रिल र मेमा नेपालमा यी दुई वायूको झगडा नै पर्छ।’
हावाको झगडा१, किन निरु
‘दुबैका विशेषता फरक(फरक छन्। एउटा माथिबाट आउँछ सुख्खा हुन्छ, कम पानी पार्छ। अर्को तलबाट आउँछ धेरै जलवाष्प ल्याएको हुन्छ,’ मानन्धरले भनिन्,‘यो झगडामा मनसुन जति बलियो र पश्चिमी वायु जति कमजोर भयो हामीलाई त्यति फाइदा हुन्छ। नत्र पूर्वमा आएको मनसुन पनि पश्चिमतिर सर्नै सक्दैन।’
पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनुपर्छ।
गर्मी सुरू भएसँगै सबट्रपिकल जेट स्ट्रिम ध्रुवतिर सर्छ। यसरी त्यो चिसो तर सुख्खा वायुमाथि सरेर चर्को घाम लागेपछि तिब्बती पठारको हावा तात्छ र माथि जान्छ। कुनै ठाउँमा सतहको हावा तातेर माथि गएर बादल बन्यो भने त्यसलाई न्यून चापीय प्रणाली भनिन्छ।
‘गर्मीमा त्यस्ता न्यूनचापीय रेखा तिब्बतमाथि दिन्दिनै बनिरहेको हुन्छन्। तिब्बतमा जति छिटो न्यून चापीय प्रणाली बन्यो नेपालमा त्यति नै छिटो मनसुन पस्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘तिब्बतमा खाली भएको त्यही ठाउँमा पुग्न मनसुनी वायु बंगालको खाडीबाट उकालो लाग्छ तर हिमालले छेक्ने भएकाले त्यो पारि जान सक्दैन। यतै झर्छ।’
केरलाबाट पुर्व र पश्चिम लागेका दुई मनसुनको मिलन भारतको चेरापुञ्जी आसपासमा हुन्छ। अरेबियन सागरबाट माथि गएको मनसुन पूर्व सर्छ, बंगालको खाडीबाट नेपाल पसेको मनसुन पश्चिम जान्छ। चेरापुञ्जी संसारकै धेरै पानी पर्ने ठाँउ मध्ये हो।
‘त्यही भएर दुई महिना चेरापुञ्जीमा धेरै पानी परेको हो,’ मानन्धरले भनिन्,‘हिउँद सुरू भएपछि उत्तरी ध्रुवमा चिसो बढ्दै जान्छ अनि मनसुन पनि बिस्तारै तलतिर लाग्छ।’
कुनै मनसुनमा धेरै पानी पर्छ कुनैमा थोरै। त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुन्छ।
प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वभरीको मौसम असर पार्छ। महासागरको सतहको पानी औसतभन्दा चिसो र तातो हुने प्रक्रियालाई लालिनो र एललिनो भनिन्छ।
स्पेनिस भाषामा लालिनो भनेको सानी केटी हो। प्रशान्त सागरमा ट्रेड वाइन्ड बग्ने ठाउँमा कहिले एसियातिर त कहिले अमेरिकातिर लालिनो हुन्छ। लालिनो हुँदा त्यो ठाउँको पानी औसतभन्दा चिसो हुन्छ।
स्पेनिसमा एललिनोको अर्थचाहिँ सानो केटो हो। एललिनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ। एललिनो हुन्छ भने सन् १६००मा दक्षिण अमेरिकाका माझीहरूले पत्ता लगाएका थिए।
‘प्रशान्त महासागरमा लालिनो र एललिनो हुने प्रक्रिया दुईदेखि सात वर्षमा दोहोरिरहन्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रो मनसुनका लागि भने एसियातिर एललिनो भएको राम्रो। किनकी त्यसले मनुसनलाई सहयोग पुग्छ।’
यी विभिन्न अवस्थालाई अध्ययन गरेर विभागले कुन वर्षको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्छ।
‘यसपालि पूर्वी क्षेत्रमा औसतभन्दा कम र पश्चिमी नेपालमा औसत मनसुनी पानी पर्ने सम्भावना छ,’ मानन्धरले भनिन्।
संसारमा दुई दर्जनभन्दा बढी मनसुन छन्। बाह्रै महिना संसारभर कहिँ न कहिँ मनसुन चलिरहेको हुन्छ। ब्राजिललगायत देशमा पानी पार्ने साउथ अमेरिकन मनसुन सेप्टेम्बरमा सुरू हुन्छ भने दक्षिण पूर्वी अफ्रिकाको मनसुन जनवरीमा सुरू भएर मार्चमा सकिन्छ।
‘तर यी कुनै पनि मनसुन सोमालियाबाट आउने मनसुनजस्ता भरपर्दा हुँदैनन्, कहिले आउँछन्, कहिले सकिन्छन्, टुंगो हुँदैन,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रोमा आउने मनसुन यति ज्ञानी छ कि हजारौं वर्षदेखि भनेकै बेला आउँछ र फर्केर जान्छ।’
सेतोपाटीमा भानुभक्तले लेखेको समाचार साभार गरिएको