प्रदेश योजनामा प्राथमिकिकरण गर्न जरुरी : मुख्यमन्त्री पौडेल

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकार र स्थानीय सरकार वीचको योजनामा प्राथमिकिरण जरुरी रहेको बताउनुभएको छ ।
३ नम्बर प्रदेशको राजधानी हेटौंडामा शुरु भएको ३ नम्बर प्रदेश समन्वय परिषदको दोश्रो बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार र स्थानीय सरकारले एक अर्कोसँग कुनै कार्यक्रम नजुधाएर बजेट नीति तथा कार्यक्रम बनाउन सके विकास गर्न सहज हुने बताउनु भयो । हामी सबै मिलेमात्र देश निर्माण सम्भव हुने भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशका नीति तथा कार्यक्रमलाई स्थानीय तहले अध्ययन गरेर मात्र बनाउन सके विरोधाभास नहुने धारण व्यक्त गर्नुभयो । एउटा योजनाको लागि तीनवटै तहमा बजेट विनियोजन भएको अवस्थाको उदाहरण दिने मुख्यमन्त्री पौडेलले योजना छनौट र बजेट निकासको सम्वन्धमा प्रदेशले छुटाएका र स्थानीय तहको महत्वका योजनाहरुलाई छनौट गर्न आग्रह गर्नुभयो ।
३ नम्बर प्रदेशका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहने परिषदमा बोल्दै कानुन मन्त्री शालिकराम जम्कट्टेलले बजेटलृ गरिब, निमुखा तथा उत्पीडनमा परेको जनताको बीचमा जनताको आवश्यकता अनुरुपको बजेटले मेल खान जरुरी भएको बताउनुभयो । नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहको सहकार्यमा न्यायिक इजलाश निर्माण गर्नुपर्ने जोड दिनुभयो । उत्पीडनमा परेकाकालाई सम्वोधन गर्न जरुरी छ अन्यथा त्यस्ता व्यक्तिहरु तपाइ हाम्रो विरुद्धमा भडकीन सक्छन् भन्दै मन्त्री जमकट्टेलले शान्तिपार्क निर्माण लगायत सुरक्षा निकायलाई वार्षिक बजेट छुट्याएर संस्थागत गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले प्रदेशबाट समन्वयको लागि पठाएको सूचना तथा महत्वपूर्ण दस्तावेज पठाएको इमेलको म्याद सकिदा सम्म पनि नखोलेर गैर जिम्मेवारीपन स्थानीय तहले देखाएको आरोप लगाउनुभयो ।
प्रदेश सभामुख सानु कुमार श्रेष्ठले ३१ वटा कानून पारित गरिसकेको प्रदेशले नीति नियम तथा कार्यक्रमहरुलाई कार्यान्वयनको तहमा कतिको लागू गरेको छ हेर्न जरुरी रहेको बताउनुभयो । सभामुख श्रेष्ठले बजेटको कमजोर पक्ष भनेको नै कार्यान्वयन नहुनु र बजेट खर्च गर्न नसक्नु रहेको धारणा व्यक्त गर्नुभयो ।
३ ंनम्बर प्रदेशका प्रमुख सचिव आनन्द ढकालले यो बैठकले आधारशिला तयार पारेर साझा प्रतिवद्धताका साथ प्रदेश र स्थानीय सरकारबीच सहकार्य गराउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।
बैठकमा ३ नम्बर प्रदेशका मन्त्रीहरु दाबा दोर्जे लामा, कैलाश ढुंगेल, युवराज दुलाल, अरुण नेपाल, उपसभामुख, राधिका तामाङ लगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
दुइ दिन सम्म चल्ने प्रदेश समन्वय परिषद्को दोश्रो बैठकमा मकावानपुर जिल्लाका अधिकांश जनप्रतिनिधिहरुको उपस्थिति थिएन । साथै काठमाण्डौँ, भरतपुर र ललितपुर तीनवटै महानगरपालिकाका मेयरको समेत बैठकमा उपस्थिति थिएन ।