छोराको आशमा सात छोरी

जुम्ला । जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा छन् ।
घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उनी अस्पताल आइपुगे । अस्पतालमा उनले भने, “यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुुस् डाक्टर’साब । यो छोरो रहेन भने म पनि रहनेछैन ।”
उनले छोरा जन्माउनकै लागि सात छोरी जन्माए । उनले छोराको आसमा सात छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सक दङ्ग परे । चिकित्सकले उपचार शुरु गरे ।
चिकित्सकको उपचारपछि उहाँका छोराको स्वास्थ्य अवस्था सुध्रँदै गइरहेको छ । “अहिले खेल्न र बोल्नसक्ने भएको छ”, बोगटीले भने, “कर्णाली अस्पताल हुँदैनथ्यो त छोरो हुँदैनथ्यो, छोरो नहुँदा म पनि यो संसारमा हुन्नथेँ होला, छोरो बाँचेकामा धेरै खुशी छु ।”
उनका छोराको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनका अनुसार छ छोरी जन्मिसकेपछि सातौँ पटक छोरा जन्मिएको हो । “छोराभन्दा पछाडि फेरि एउटी छोरी जन्मिएकी छे”, उनले भने, “यो समाज छोरा जन्मेकामा उत्सव मनाउँछ, छोरी जन्मेकामा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ ।
छोराकै आसमा सात छोरी भए । बीचमा भाग्यवश जन्मेको यो छोरा बचाउन खुब प्रयन्त गर्दैछु ।” अहिले उनका छ छोरीको विवाह भइसकेको छ । कान्छी छोरी, एक छोरा र श्रीमती मात्र साथमा रहेका उनले बताए । उनले भने, “समयमै छोरा जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला । छोरी भए, अर्काको घर गए, एक्लो बनाए । अहिले सहाराविहीनझैँ छु ।”
कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले छोराको आसमा सात छोरी जन्माएका उहाँले एक्लो छोरा बचाउन गरेको हारगुहारले अस्पतालको ध्यान केन्द्रित भएको बताए । उनले भने, “जङ्गली फल खाँदा त्यसको असर दिमागमा परेको देखियो । छोरो छटपटाउन थाल्यो । बाबु उपचारका लागि रोइकराइ गर्न थाले ।
तर बिहानै निको भएर छोरा बोल्न थालेपछि मुहारमा खुशी देखियो ।” सात छोरीको बीचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवावासी चलेको उनी बताउँछन् । “निको भएर घर फर्कुंला भन्ने आस थिएन”, बोगटीले भने, “अब छोरा निको भएपछि खुशीसाथ घर फर्कंदै छु । छोराको उपचार हुन नसकेको भए म घर फर्कने थिइनँ । अब खुशीका साथ फर्कन्छु, छोराले पुनःजन्म पायो ।”