अन्तराष्ट्रिय नायक र गायक बक्सिङमा भिड्दै

निरन्तर न्यूज
२७ जेष्ठ २०७६, सोमबार १८:०४

एजेन्सी, २७ जेठ । नायक र गायक बक्सिङमा भिड्दै ! सायद यस्तो समाचार विरलै पढ्न र सुन्न पाइन्छ । तर पप स्टार जस्टिन बिवरले बक्सिङमा आफूसँग भिडेर देखाउन हलिउड स्टार टोम क्रुजलाई चुनौती दिएको कुरा यतिवेला भाइरल नै भएको छ ।

बिबरले क्रुसलाई युएफसी फाइटमा खुलमखुला चुनौती दिएपछि दुबै जनाका फ्यान समेत चकित परेका छन् । आइतबार नयाँ गीतको तयारी गरिरहेको भनेर ट्विट गरेका बिबरले आफ्ना फ्यानलाई एक्कासी चकित पार्ने गरी अर्को ट्विट गरेका हुन् ।

‘टोम क्रुजलाई रिङमा आएर मसँग भिड्न चुनौती दिन्छु । टोम , तिमी मसँग लड्न आएनौ भने तिमी डरपोक हौं र यो कुरा कहिल्यै भुल्ने छैनौं’, बिबरले आफ्नो ट्विटरमा लेखेका छन् ।

बिबरले युएफसीका अध्यक्ष डाना ह्वाइटलाई समेत आफ्नो ट्वीटमा ट्याग गर्दै लेखेका छन्, ‘यो भिडन्त आयोजना गर्न कोही तयार छ त ?’

तर बिबरले साच्चै टोमसँग लड्न चाहेर वा मजाक गरेर ह्वाइटलाई ट्याग गरेका हुन् भन्ने प्रस्ट भइसकेको छैन ।

बिबरको चुनौतीले यतिबेला ट्विटरमा समेत हल्लाखल्ला मच्चाएको छ । उनको ट्विटरमाथि धेरैले प्रतिक्रिया जनाएका छन् । यस्तो सूचीमा युएफसीका चर्चित बक्सर कोनर म्याकग्रेगर समेत छन् । आफू गायक र नायकबीच हुने भिडन्त आयोजना गर्न तयार रहेको म्याकग्रेगरको भनाइ छ ।

‘यदि टोम क्रुजले बिबरको चुनौती स्वीकार गरे भने म र मेरो कम्पनी उक्त भिडन्त आयोजना गर्न तयार छ । फिल्ममा झैं लड्न सक्ने साहस क्रुजसँग छ/छैन होला ? जान्न चाहन्छु’, म्याकग्रेगरले आफ्नो ट्विटमा व्यंङ्ग गर्दै लेखेका छन् ।

बिबरका एकजना फ्यानले ‍दुबैजनाको उचाइ, उमेर र सम्पत्ति समेत उल्लेख गरेर प्रतिक्रिया जनाएका छन् । ती प्रयोगकर्ताले २५ वर्षीय बिबरसँग ५६ वर्षीय क्रुज भिडन्त गर्न जाने यात्रालाई ‘घाइते हुन जाने यात्रा’ भनेर लेखेका छन् ।

त्यस्तै क्रुजका एक फ्यानले उनको पक्षमा जति पनि बाजी थाप्न र बिबरले मज्जाले कुटाइ खाएको हेर्न तयार रहेको उल्लेख गरेका छन् । ‘टोम क्रुजले जस्टिन बिबरलाई थला पार्ने गरी कुटेको हेर्न चाहन्छु र यसका लागि भने जति पैसा खर्च गर्न तयार छु’, ती फ्यानले आफ्नो ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु