रुकुमपूर्वमा गुरिल्ला ट्रेल हुँदै ५२ किलोमिटर लामो दाैड

जयमान बुढा मगर
२६ जेष्ठ २०७६, आईतवार १८:५२

रुकुमपूर्व  । रुकुमपूर्व भूमे गाउँपालिकामा गुरिल्ला ट्रेल दाैड हुने भएको छ । रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर गुरिल्ला हिँडेको बाटोमा खेलाडीलाई दौडाउन लागिएको हो । भूमे गाउँपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको गुरिल्ला ट्रेल दाैड पर्यटनको प्रवर्धन, प्रचारप्रसार र विस्तार गर्ने भन्दै भूमे गाउँपालिकाले गुरिल्ला ट्रेल दौड गरेको हो ।

१० वर्षे सशस्त्र युद्धका क्रममा लडाकुहरू हिँडेको बाटैबाटो दौडाइने र युद्ध पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘दौडाउने तयारी गरिएको क्षेत्रमा जनयुद्धका क्रममा धेरै गुरिल्ला हिँडेका हुन्’ उनले भने, ‘सोही बाटोमा दौडाएर प्रचारप्रसार गरेर युद्ध पर्यटनको प्रवर्धन गर्न खोजिएको हो ।’ स्थानीय संस्कृति, जनजीवन, भूगोल तथा ऐतिहासिक क्षेत्रको प्रचार गर्ने अर्को उद्देश्य पनि राखिएको उनले बताए ।

दौड असार २ गते गरिने भएको छ । ५२ किलोमिटर लामो हुनेछ । भूमे गाउँपालिका–६ को महतबाट सुरु हुने दौड रोल्पाको थवाङबाट जलजला पुगेर फेरि थवाङबाट रुकुम पूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खावाङ बगरस्थित भूमे गाउँपालिकामा आएर सकिनेछ । एउटै रुट र उही दूरीमा महिला र पुरुषका छुट्टाछुट्टै दौड प्रतियोगिता गरिनेछ अभियान्ता सुनील कुमार रोका मगरले बताए । दुवैका विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैको साथै ट्रफी, मेडल र सम्पूर्ण सहभागिलाई प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

‘यो रुट पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण छ, त्यसैले यसको प्रचार गर्ने र हरेक वर्ष विदेशी खेलाडी भित्र्याउने योजनासहित दौड गरिएको हो,’ रोकाले भने, ‘यसको प्रवर्धनमा म्याराथन विश्व अल्ट्रा धाविका मीरा राई आउने छिन्न् ।’ २०५६ असोज ६ मा महतडाँडास्थित प्रहरी चौकी आक्रमण गरी माओवादी लडाकुले डीएसपी ठूले राईको अपहरण गरेका थिए । प्रहरी, सरकारी सेना र माओवादी लडाकुबीच पटक–पटक दोहोरो भिडन्त भएको थियो । रोल्पाको थवाङ युद्धकालको माओवादीको राजधानी मानिन्थ्यो ।

प्रदेश ५ का हिमाली जिल्ला रूकुमपूर्व र रोल्पाका केही भाग समेटेर गुरिल्ला माराथन प्रतियोगिताको आयोजना हुन लागेको छ । तत्कालिन माओवादीले २०५२ सालदेखि सुरू गरेको १० वर्षे सशस्त्र युद्वमा ‘गुरिल्ला’ लडाकु हिँडेको रोल्पा, रूकुम, बाग्लुङ र म्याग्दीमा पर्ने गोरेटो बाटोलाई केही वर्ष अगाडि सरकारले ‘गुरिल्ला पदमार्ग’ को रूपमा एक्सप्लोर गरेको थियो ।

गुरिल्ला पदमार्गको पर्यटन प्रवर्धनका लागि म्याराथनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । भूमे गाउँपालिकाले गुरिल्ला पदर्माग समेत निर्माण कार्य गरिराखेको छ ।

फाेटाे : गुगल

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु