गोलभेंडाको रसबाट फाइदै फाइदा

काठमाडौं । यदि तपाईं उच्च रक्तचापको र कोलेस्ट्रलको समस्याबाट पीडित हुनुहुन्छ भने गोलभेंडाको जुस/रस तपाईंका लागि फाइदाजनक हुन सक्छ । गोलभेंडाको जुस मुटुसम्बन्धी बिरामीको खतरा रोक्न पनि फाइदाजनक हुने एक अनुसन्धानबाट पुष्टि भएको छ ।
फुड साइन्स एण्ड न्युट्रिशनमा प्रकाशित अनुसन्धानका लागि १८४ पुरुष र २९७ महिलाहरुमाथि एक वर्षसम्म गोलभेंडाको रस नुन नहालीकन पिउन दिइएको थियो । जापानको टोक्यो मेडिकल एण्ड डेन्टल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार अनुसन्धानको अन्तिमसम्म आउँदा उच्च रक्तचापबाट पीडित ९४ सहभागीको प्रेसरमा गिरावट देखियो ।
अनुसन्धानमा सहभागी एक अनुसन्धाताले भने, ‘यसको सेवनबाट उच्च कोलस्ट्रलबाट पीडित १२५ सहभागीको एलडीएल कोलस्ट्रल स्तर १५५.० मिलिग्राम प्रति डेसिलिटरबाट कम भएर १४९.९ मिलिग्राम प्रति डेसिलिटर भएको थियो ।
अनुसन्धानबाट गोलभेंडाले तरकारीको स्वाद मात्रै नबढाउने भएर कयौं किसिमका फाइदा हुने पुष्टि भएको हो । अनुसन्धानको नतिजाले गोलभेंडाको सेवनले क्यान्सरबाट रोक्न पनि सघाउँछ । हप्तामा कम्तिमा १० पटक गोलभेंडा खानाले क्यान्सर हुने सम्भावना ४५ प्रतिशतसम्म कम हुन्छ ।
अनुसन्धानको नतिजाअनुसार, गोलभेंडा वा यसको परिकार खानाले मुटुसँग जोडिएको समस्या पनि कम हुने पाइएको छ । एक वर्ष लगाएर गरिएको अध्यननमा फरक फरक उमेर समूहका मानिसहरुलाई सहभागी गराइएको थियो ।