५-जी प्रविधिले निम्त्याएको विश्वव्यापी विभाजन

निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार १३:२३

विगतमा रुसी र चिनियाँ इन्टरनेट सेवा तथा प्रविधि गुणस्तरहीन भएको अमेरिकाको बुझाइ थियो । प्राविधिक रुपमा कमसल मानिने अनि अरुको नक्कल गरेर ल्याइएका यी दुबै देशका इन्टरनेट सेवा र प्रविधि सिलिकन भ्यालीले प्रदान गर्ने सेवासँग प्रतिस्पर्धा गर्न नसक्ने  ठानिन्थ्यो । रुस र चीनको इन्टरनेट कम गुणस्तरीय हुनुको एउटा कारण सरकारी सेन्सरशीप र हस्तक्षेप पनि थियो ।

तर चिनियाँ प्रविधिले हालै हासिल गरेको लोकप्रियता र सफलताले अमेरिकी सोंचलाई गलत साबित गरेको छ । यही साताको एउटा घटनाले चिनियाँ र रुसी इन्टरनेट सेवा/प्रविधि अमेरिकी इन्टरनेट सेवा/प्रविधि भन्दा कम छैनन् भन्ने प्रस्ट पार्छ । नयाँ इन्टरनेट प्रविधिको विकाससँगै चीन र रुसले ५-जीको क्षेत्रमा छलाङ्ग हानिरहेको र अमेरिका पछाडि पर्दै गएको प्रस्ट हुन्छ । अमेरिका पछि पर्नुको मुख्य कारण हुवावे कम्पनी समेत हो । हुवावे कम्पनी  ५-जी नेटवर्किङमा प्रयोग हुने प्रविधि र उपकरणको सबैभन्दा ठूलो आपूर्तिकर्ता मात्रै होइन,  विश्वकै अग्रणी कम्पनी हो भन्दा फरक नपर्ला ।
वाशिङट्नले हुवावेद्वारा उत्पादित प्रविधि र उपकरणलाई अमेरिकाको ५-जी नेटवर्कमा प्रयोग गर्न नपाइने नीति ल्याएको छ । त्यस्तै, हुवावेले उत्पादन गर्ने स्मार्टफोन र सञ्चार नेटवर्कमा अमेरिकी सफ्टवेयर र प्रविधि प्रयोग रोक्ने चेतावनी अमेरिकाले दिइरहेको छ । यति मात्रै होइन, अमेरिकाले आफ्ना साझेदार र सहयोगी मुलुकलाई समेत हुवावेका उपकरणहरु ५-जी नेटवर्कमा प्रयोग नगर्न भनिरहेको छ । चिनियाँ सरकारले संवेदनशील डाटालाई जासुसी कार्यमा प्रयोग गर्न सक्नेतर्फ सचेत हुनुपर्ने अमेरिकाको भनाई छ ।
तर आफूले उत्पादन गरेका प्रविधि र उपकरणबाट अन्य मुलुकको राष्ट्रिय सुरक्षामा कुनै खतरा नपर्ने हुवावेको दाबी छ ।
अमेरिकाका केही शहरमा हुवावेले विकास गरेको प्रविधि निषेध गर्ने प्रयास समेत भएको देखिन्छ । तर विज्ञहरुले हुवावेमाथि प्रतिबन्ध लगाउने कार्यबाट यसको लोकप्रियता झन बढ्ने र कालान्तरमा कुनै पनि अमेरिकी कम्पनीले चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेर चेतावनी दिएका छन् । रुसलाई इन्टरनेट प्रविधिको क्षेत्रमा अमेरिका र चीनभन्दा पछि रहेको देख्ने मानिस समेत छन् । तथापि,  केही समययता रुसले समेत यस क्षेत्रमा तीव्र विकास गरिरहेको छ र निकट भविष्यमा नै अमेरिकालाई चुनौती दिन सक्ने हैसियत बनाउने छ ।
अमेरिकाभन्दा बाहिर हुवावेको प्रविधि किन्ने वा नकिन्ने भन्ने कुरा राजनीतिक विषय बन्दै गएको पाइन्छ । यस सवालमा राजनीतिक पक्षधरताले विश्वव्यापीरुपमा नै इन्टरनेटलाई विभिन्न ध्रुवमा विभाजन गर्ने खतरा उत्तिकै देखिन्छ । यसरी दुई वा बहु ध्रुब देखिँदा हामीले भन्दै र प्रयोग गर्दै आएको खुला वर्ल्डवाइड वेभ अवसान हुन सक्छ । अहिले विश्वनै इन्टरनेट र सञ्चार प्रविधिको नयाँ चरणमा प्रवेश गरिरहेको अवस्था छ । यस्तो अवस्थामा हुवावेलाई प्रयोग गर्न नचाहनेहरु आफै पछि पर्ने अवस्था आउन सक्छ ।
हुवावेले सिर्जना गरेको द्विविधा
बुधबार हुवावे र रुसको सबैभन्दा ठूलो टेलिकम अपरेटर एमटिएसबीच एउटा सम्झौता भएको छ । रुसमा आगामी १ वर्षभित्रै  ५-जी प्रविधि विकास गरी सोही अनुसारको नेटवर्क सञ्चालन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।
हुवावेले चिनियाँ सरकारबाट व्यापारिक प्रयोजनका लागि समेत ५-जी सञ्चालन गर्ने अनुमति पाएपछि एमटिएससँग सम्झौता भएको छ । एमटीएससँगको सम्झौतालाई ‘टेलिकमको क्षेत्रमा नयाँ युग’ भनेर चिनियाँ समाचार माध्यमले व्याख्या गरिरहेका छन् । यसले टेलिकम क्षेत्रलाई आमूल परिवर्तन गर्ने कार्यमा हुवावे निकै सक्रिय हुनेछ भन्ने देखाउँछ ।
हालसम्म हुवावेले विश्वभर ३० मुलुकमा ४५ भन्दा बढी व्यापारिक सम्झौता गरिसकेको छ । यद्यपि, यो संख्या कम नै मान्नुपर्छ । फिनल्याण्डको नोकिया कम्पनीले विगत २ महिनाभित्रमा ५-जी का लागि १२ वटा सम्झौता गरिसकेको छ जबकि हुवावेले यस अवधिमा केबल ३ वटा मात्रै सम्झौता गरेको अवस्था छ । हुवावेलाई ५-जी प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी मानिएको र मूल्य निर्धारणमा अन्य प्रतिस्पर्धीलाई पछि पार्न सक्ने क्षमता हुँदाहुँदै नोकियाको भन्दा कम सम्झौता गर्नु अचम्मको कुरा हो ।
चीन र अमेरिकाबीच चर्किरहेको व्यापार युद्धको अग्रभागमा हुवावे नै छ । हुवावेका एकजना वरिष्ठ कर्मचारी अमेरिकाले लगाएका आरोपका कारण क्यानाडामा पक्राउ परेका छन् । यो कम्पनीलाई अमेरिकी बजारमा निषेध गरिएको छ र वाशिङ्टनले आफ्ना साझेदार राष्ट्रलाई समेत हुवावेमाथि कारबाही गर्न भनेर दबाब दिइरहेको छ ।
फाइभ- जीका कारण इन्टरनेटको गति बढ्ने, छिटो कनेक्शन हुने, सहज पहुँच हुने र स्वचालित कार र स्मार्ट सिटीहरु थप सशक्त हुने गर्छन् । त्यसैले  विश्वका अधिकांश मुलुकहरुमा ५-जी नेटवर्क विकास गर्ने कार्य अघि बढाइरहेको छ । तर यही प्रविधिका कारण विश्व रंगमञ्चमा विभाजनका रेखा समेत कोरिएका छन् । विभाजित विश्वको एक ध्रुबमा हुवावेलाई अवसरको रुपमा हेर्ने रुस जस्ता बेइजिङका सहयोगी राष्ट्र देखिन्छन् भने अर्को ध्रुबमा हुवावेलाई रोक्न खोज्ने वा यसलाई चुनौतीको रुपमा लिने अमेरिका र उसका केही सहयोगी राष्ट्र छन् ।
यी दुई ध्रुबको बीचमा समेत केही मुलुकहरु उभिएको देखिन्छ । यसरी बीचमा उभिने मुलुकमध्ये अधिकांश मुलुकहरु पहिलादेखि नै चीनसँगभन्दा अमेरिकासँग नजिक छन् । तर यस्ता मुलुकहरु हुवावेलाई प्रतिबन्ध लगाउँदा ५-जी विकासमा ढिलाई गर्न र थप मूल्य बहन गर्न इच्छुक देखिदैनन् ।
पछिल्लो विकासक्रमलाई हेर्ने हो भने फाइभ-जी प्रविधिमा अमेरिकाभन्दा चीन नै अघि देखिन्छ । त्यसैले विश्वकै अग्रणी कम्पनीलाई प्रतिबन्ध लगाउँदा अमेरिकालाई खासै फाइदा हुँदैन । तर यसको अर्थ अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्न वा कालान्तरमा चीनलाई उछिन्न सक्दैन भन्ने होइन, चीनसँग प्रतिस्पर्धा गर्न वा चीनलाई उछिन्न निकै कठिन भने हुनेछ ।
विश्वभर देखिएको विभाजन थप मजबुत हुँदै गएको धेरैको विश्लेषण छ । फलस्वरुप, विश्वका अन्य मुलुकहरु कि चीनको किअमेरिकाको ५-जी इन्टरनेट प्रविधि प्रयोग गर्न बाध्य हुने अवस्था सिर्जना भएको छ । विभाजनबाट प्रविधि र उपकरण उत्पादन/आपूर्ति गर्ने टेलिकम कम्पनीहरु मात्रै होइन, अन्य क्षेत्र समेत प्रभावित हुनेछन् । ‘एकअर्कालाई निषेध गर्ने प्रविधिका कारण विश्वको आपूर्ति चक्र मात्रै प्रभावित हुन्छन् भनेर बुझ्नु हुन्न’, प्रविधि विशेषज्ञ टिम कपलान लेख्छन्, ‘विश्वभर गरिने व्यापारिक र लगानीसम्बन्धी निर्णयमा राजनीति हाबी हुन्छ भनेर बुझ्नुपर्छ।’
विभाजनकारी नेट ?
खुला र साझा इन्टरनेट भनेको यस्तो  ठाउँ हो जहाँ प्रविधि र मापदण्डको कुनै सीमा हुँदैन । त्यही भएर इन्टरनेटले सजिलै  विश्वव्यापी रुप धारणा गरेको हो । आजको युग यही अवधारणबाट निर्देशित छ ।
तर केही समयदेखि इन्टरनेटलाई बुझ्ने/प्रस्तुत गर्ने तरिका र यसको यथार्थ अवस्थाबीच अन्तरविरोध बढिरहेको छ । सेन्टर फर इन्टरनेशनल गभर्नेन्स इनोभेशन (सीआईजीआई) को एक प्रतिवेदनमा खुला वेभ भनेको ‘हार्डवेयर, सफ्टवेयर, मापदण्ड र डाटावेससहितको कमजोर र अन्तर्निभर संरचना हो जसलाई निजी तथा सरकारी तत्वले निर्धारण गर्छन् तर निजी र सरकारी व्यवहार भने स्वेच्छिक नियमबाट मात्रै निर्देशित हुन्छन्’ भनेर उल्लेख गरिएको छ । यो वाक्यबाट इन्टरनेट कति नाजुक छ भनेर स्पष्ट हुन्छ ।
त्यस्तै खुला इन्टरनेटको सिद्धान्तविरुद्ध उभिने मुलुकको संख्या दिनदिनै बढिरहेको छ । यस्ता मुलुकमा इन्टरनेटको सार्वभौम सीमा साँघुरो बनाउने, स्वदेशी प्रविधि कम्पनीलाई प्रबर्द्धन गर्ने,  विदेशी प्रतिस्पर्धीलाई उनीहरुको डाटा स्थानीयकरण गर्न र यस्तो डाटा राष्ट्रिय सुरक्षा अङ्गसामु प्रस्तुत गर्न बाध्य पार्ने काम भइरहेको छ ।
राज्यको निगरानी र सेन्सरसीपका कारण स्वतन्त्र इन्टरनेटको आयाम सीमित हुन पुगेको छ । रुस र चीनमा जस्तो राज्यनियन्त्रि नीतिले मात्रै होइन, हुवावेमाथि प्रतिबन्ध लगाउने अमेरिकी कदमले समेत इन्टरनेटलाई लिएर  विश्वभर विभाजन देखिएको हो । यसबाट ५-जी नेटवर्क विकास गरिरहेको कम्पनी वा इन्टरनेटमाथि निगरानी गरिने शैली मात्रै प्रभावित हुँदैन । दुई वा बहु ध्रुवमा विभाजित इन्टरनेट प्रविधिले भिन्निभिन्न मापदण्ड र नियम लागू हुने अवस्था समेत आउन सक्छ ।
(सीएनएनका लागि जेम्स ग्रिफिथ्सले तयार गरेको आलेख, भावानुवाद: सुनिल बराल )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*