एमालेले भृकुटीमण्डपमा मनायाे ‘यूथ सेलिब्रेसन’

काठमाडौं । जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनताले जितेको दिनको अवसरमा आयोजन गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रम मनाएकाे छ ।
उक्त कार्यक्रममा देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै सहभागि भएका थिए ।
विहिवार भएकाे कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, सांगीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत साथै ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिएर मनाइएकाे हाे ।
कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेकाले कार्यक्रमस्थल गुञ्जायमान भएको थियाे । यो कार्यक्रम अन्यभन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहेका एमालेको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
‘देशैभरबाट काठमाडौं आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ, कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपतर्फ आइरहेका छन्’, उनले भने ।
करिब एक लाख युवा सहभागी हुने योजनाका साथ आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न युवा नेताले सम्बोधन गरेका थिए ।
कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत भएकाे थियाे ।