बागमती सरकारले खेलकुद क्षेत्रकाे बजेट घटाएकाेमा मन्त्री महर्जनकाे गुनासाे

निरन्तर न्यूज
१० बैशाख २०८२, बुधबार ०७:४५

हेटाैँडा । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सिलिङ घटेको भन्दै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गुनासाे गरेका छन् ।

प्रदेश खेलुकद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा खेल क्षेत्रको बजेट घटाएको भन्दै आक्रोश पोखेका हुन् । उनले भने, ‘चालु आर्थिक वर्षमा ७४ करोड रुपैयाँ रहेको हाम्रो मन्त्रालयलाई अहिले ६१ करोड बजेट सिलिङ प्राप्त भएको छ । यसरी खेलकुदको विकास सम्भव छैन ।’

उनले खेलकुदलाई बजेट माग्दा अर्थमन्त्रीले आफ्नै खल्तीबाट दिनुपर्ने जस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे । राज्यले खेलकुदको महत्व नबुझ्दा खेलाडी विदेश पलायन हुन बाध्य भएको उनको दाबी ।

प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई खासै महत्व नदिएको उनले गुनासो गरे । उनले भने, ‘यस्तै कारणले खेलाडी विदेसिन बाध्य भएको हो ।’ युवा तथा खेलकुद मन्त्रालयको सिलिङ बजेट जम्मा ६१ करोड रुपैयाँ मात्रै रहेको जानकारी दिँदै उनले यो निकै कम भएको बताए । हरेक खेलको राष्ट्रिय टिममा रहेका ८० प्रतिशत खेलाडी बागमती प्रदेशभित्रका रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु