सुमाेकाे टायरमा लुकाएर लागु‌औषध ओसार्ने युवक पक्राउ

निरन्तर न्यूज
९ बैशाख २०८२, मंगलवार २१:५४

हेटौँडा । टाटा सुमोकाे स्पेयर टायरमा लुकाएर  लागूऔषध तस्करी गर्ने एक युवक पक्राउ परेका छन् ।

बाराबाट काठमाडौं लागि चल्ने टाटा सुमोका चालक २४ वर्षीय मुम्ताज मियालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।

मंगलबार बिहान बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक टाटा सुमोलाई रोकेर चेकजाँच गर्ने क्रममा १ सय मिलिलिटरको २ सय २५ बोतल लागूऔषध ओनरेक्स फेला पारेकाे मकवानुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ९ का मियालाई हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट प्रहरीले नियन्त्रणमा लिएको हाे ।  सुमोको हुटमा राखिएको स्पेयर टायरमा लागूऔषध बरामद भएको अर्यालले जानकारी दिए । प्रहरीले बरामद गरेको लागूऔषधसहित सुमो जीप र मुम्ताज अन्सारीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले सुमोका यात्रुको समेत विवरण समेत संकलन गरेर छाडेको छ ।

जिल्ला अदालत मकवानपुरले मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु