हेटाैँडामा अवैध रुपमा गाइगाेरु ढुवानी

हेटौंडा। मकवानपुर प्रहरीले अवैध गाईगोरु ढुवानी गरिरहेको फेला पारेकाे छ ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित फरेष्ट्री क्याम्पस अगाडि पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान अवैध रूपमा गाईगोरु ढुवानी गरिरहेको अवस्थामा एउटा ट्रक नियन्त्रणमा लिएकाे हाे ।
वडा प्रहरी कार्यालय, हेटाैँडा सानोपोखराबाट खटिएको टोलीले हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको बा.प्र.०३–००१ख–१२२० नम्बरको आइचर ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक ट्रक छाेडी फरार भएका थिए। उक्त ट्रकको चेकजाँच गर्दा कुनैपनि भेटेनरी कागजातबिनै ८ वटा गाई र ७ वटा गोरु अवैध रूपमा ढुवानी गरिरहेको मकवानपुर प्रहरीले जनाएकाे छ । पशु सेवा ऐनअनुसार बिना अनुमति तथा स्वास्थ्य परीक्षण कागजात साथमा नराखि गाईगोरु ढुवानी गर्नु गैरकानुनी मानिन्छ। साेही क्रममा पक्राउ परेका गाईगोरु र ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पशु सेवा केन्द्र कार्यालय, हेटौंडामा बुझाइएको प्रहरीले जनाएको छ।
पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरका अनुसार समातिएका गाइ गाेरु र ट्रक कार्यालयकाे कम्पाउण्डमा रहेकाे छ । यसबारे थप अनुसन्धान भैरहेकाे र फरार चालकको खोजी गरिरहेको बताए ।
यस अघि २०८१ फागुनमा बा. प्र. ३–००१ ख १४२४ नम्बरको ट्रकलाई हेटौंडा–१५ स्थित रातोमाटे प्रहरी चौकी अगाडिबाटै नियन्त्रणमा लिने प्रयास असफल भएपछि पशु कार्यालयको टोलीले पिछा गर्दै उक्त ट्रकलाई बाराकाे पथलैयामा पुगेर २५ वटा गोरुसहित ट्रक नियन्त्रमा लिएकाे थियाे ।