निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने सरकारको चेतावनी

निरन्तर न्यूज
७ बैशाख २०८२, आईतवार ०८:०१

काठमाडौं । गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई त्यसो नगर्न  चेतावनी दिएको छ ।
राप्रपाले भोलि (आइतबार) बिजुलीबजार क्षेत्रमा  गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाले बताएपछि गृहमन्त्रालयले चेतावनी दिएको हो ।
शनिबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गरी समाजमा अशान्ति फैलाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले यस्तो कार्य गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ । ’राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२\०१\०७ गतेका दिन प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ’संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’

मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत आग्रह गरेको छ । राप्रपाले आइतबार काठमाडौंमा प्रदर्शन गर्दै छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका थिए ।

home_ministry.jpeg

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु