वनकरिया बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी

निरन्तर न्यूज
६ बैशाख २०८२, शनिबार २२:०३

हेटौंडा। लोपोन्मुख जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखी ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका ४, मुसेधापमा शनिवार उक्त सामग्रीहरु वितरण गरिएको हो ।

अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको थियो । मनहरी गाउँपालिका ४ का वडा अध्यक्ष प्र्रकाश थापाले बनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरेका थिए ।

कार्यक्रममै वनकरियासहित ५१ बालबालिकाका लागि कपी ५६ दर्जन, डट्पेन १५ पाकेट, पेन्सील ५ बक्स, सापनर १५ बक्स, ईरेजर १५ बक्स, रेकर्ड फाईल ५० वटा लगायतका शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो । अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा सन्तोषी परियोजना अन्तरगत १ बर्षका लागि ट्युसन कक्षा संचालन गर्न प्रदान गरिएको हो । परियोजना अन्तरगत सन् २०१५ देखी सन्तोषी बनकरियाले बनकरियासहितका बालबालिकालाई निःशुल्क ट्युसन अध्यापन गराउँदै आएकी छिन् ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, कर्मचारी रुकमणि श्रेष्ठ, बंगलादेशी स्वयम् सेवक एलिजा बास्के र अप्सना अनि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
यसैबिच, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजनामा शुक्रबार जलवायु परिवर्तनले आदिवासी महिला तथा किशोरीहरुलाई पारेको असरबारे छलफल कार्यक्रम भएको छ । वनकरियासहित स्थानीय महिला तथा किशोरीको सहभागिता रहेको कार्यक्रममा बंगलादेशी स्वयम् सेवक एलिजा बास्के र अप्सना अनिले सहजिकरण गरेका थिए ।

साथै कार्यक्रममा कडाईको तालिम समेत दिईएको थियो । यसअघि राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले दातृ निकायको सहयोगमा वनकरिया समुदायका लागि पुस्तकालयसँगै सावुन बनाउँने तालिम समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु