प्रेस स्वतन्त्रता र प्रजातन्त्र पर्यायवाची, दमन गर्दा मानवअधिकार हनन हुने : देउवा

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लेख्न नपाइने मुलुकमा मानवअधिकार नहुने निष्कर्ष सुनाएका छन् ।
लगनखेलमा शुक्रबार कांग्रेसको जागरण अभियानको समापन गर्दै सभापति देउवाले भने, ‘लेख्न नपाइने मुलुकमा मानवअधिकार हुँदैन । प्रेस स्वतन्त्रता र प्रजातन्त्र पर्यायवाची हुन् । कुनैलाई दमन गर्दा पनि मावनअधिकार हनन् हुन्छ ।’
सभापति देउवाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले मुलुकलाई अप्ठेरोतिर धकेलेको तर्क गरे । उनले सरकारले एकपछि अर्को हस्तक्षेप गरेको भन्दै प्रजातान्त्रिक अधिकार तथा प्रेस स्वतन्त्रतामा हस्तक्षेपलाई कांग्रेसले टुलुटुलु हेरेर नबस्ने बताए ।
नेकपाले अर्काको जग्गा खोस्ने काम गरेको बताउँदै चुनौतीको घडीमा कांग्रेसीजन एक हुनुको विकल्प नभएको बताए ।
कांग्रेसको उक्त अभियान मुलुकभर आइतबार सम्पन्न हुने भएपनि ललितपुरमा शनिबार सिठी नःख पर्व भएकाले शुक्रबार नै समापन गरिएको छ ।