सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्ने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ ।
कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइराला लगायतका नेताहरुले सरकारको चर्काे आलोचना गरिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक राखेका हुन् । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको थियो ।
पछिल्लो समय गठबन्धनमा असमझदारी बढेको टिप्पणी भइरहेको छ । संयन्त्रमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको र सरकारले काम गर्न नसकेको टिप्पणी गरिरहेका छन् । नेता कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको बताइरहेका छन् । त्यसैमाथि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो सरकार लामो समयसम्म नटिक्ने टिप्पणी गरिरहेका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन भन्दै संसद अधिवेशन बोलाउँदै शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्कन अनुरोध गरेको थियो । तर, शिक्षकहरूले राज्य अझै अनुदार रहेको भन्दै आन्दोलन नरोक्ने बताएका छन् ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पनि पेचिलो बनिरहेकाे छ । उता त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले राजीनामा दिएसँगै पद पनि रिक्त छ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।